नेकपा एमालेले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको बैठकले पार्टीमा अराजकता निम्त्याउनेलाई कारबाही गर्न कार्यदल गठन गरेको हो।
स्थानीय तहको निर्वाचनमा गठबन्धन र सरकारको घेराबन्दीबीच पहिलो शक्ति नबनेपछि पार्टीभित्रकै अराजकताको कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।
उनले स्थानीय तहको निर्वाचनको समीक्षा गरेर असार मसान्तसम्म जिल्ला र प्रदेश कमिटीलाई आत्मसमीक्षा रिपोर्ट पठाउन निर्देशन दिने समेत बताए।
उनले भने, ‘पार्टीभित्र देखिएको समस्या समाधान र परेको उजुरीका बिषयमा उपाध्यक्ष बिष्णु पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ। त्यसले आवश्यक अध्ययनपछि रिपोर्ट ल्याउँछ। आवश्यक परे कारवाही समेत गर्नसक्छ।’
प्रदेश र संघको निर्वाचन तयारीका लागि विश्लेषण गरेर जिल्ला र प्रदेशबाट रिपोर्ट माग गर्ने समेत उनले बताए।
उनले गठबन्धन सरकारको भण्डाफोर गरेर मत रक्षालाई मुख्य रुपमा ध्यान दिन नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय भएकाे जानकारी दिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















