काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको आर्थिक वर्ष २०७९।८० को नगर सभा सम्पन्न भएको छ । नगरसभाको ११ औं अधिवेशन असार १० गते शुरु भई असार १६ मा दोस्रो बैठक र असार १९ मा तेस्रो बैठक बसी नगरसभा सम्पन्न भएको हो ।

नगरपालिकाको आ.व. २०७९/८० को नीति, कार्यक्रम र बजेट पारित गर्नका साथै यस अधिवेशनबाट न्यायिक समिति र लेखा समिति गठन भएको छ।

नगर सभाले मण्डनदेउपुर अस्पताल सञ्चालन विधेयक, स्थानीय भाषा विधेयक, मन्डनदेउपुर प्रज्ञा प्रतिष्ठान विधेयक र मण्डनदेउपुर भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय विधेयक पारित गरेको छ।

यसरी यो नगरपालिका नेपालमै भाषा ऐन ल्याउने पहिलो नगरपालिका बन्न पुगेको छ । यसको श्रेय मेयर टोकबहादुर वाईबालाई मिलेको छ, भाषा र संस्कृतिको क्षेत्रमा नेपालकै लागि एउटा नयाँ इतिहास कोरिएको छ । किनभने नेपालमै आजसम्म कहीँ कतै भाषा ऐन बनेको इतिहास छैन । तर त्यो इतिहासलाई ब्रेक गर्दै मेयर टोकबहादुर वाईबाले भाषा र संस्कृतिको लागि उच्च योगदान पुर्‍याएका मात्र छैनन्, सङ्घीय र प्रदेश सरकारलाई समेत पछि पारेका छन् । किनकि नेपालका कुनै पनि प्रदेशमा मात्र होइन सङ्घीय सरकारले पनि भाषा ऐन ल्याएको छैन । तर उनले नेपालमै पहिलो पटक भाषा ऐन ल्याएर भाषिक क्षेत्रको लागि उच्च योगदान पुर्‍याएका छन् ।

त्यसैगरी नगरपालिकाले दुई ऐनहरूमा संशोधन गर्ने क्रममा स्थानीय शिक्षा ऐन, २०७४ र न्यायिक समिति कार्यविधि ऐन, २०७४ को संशोधन गर्न बनेका विधेयकहरू सर्वसम्मतिले पारित गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।