रामेछाप जिल्लाको सुनापति गाउँपालिका–५ लुभुघाटमा आज बिहान भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या काभ्रे जिल्लाको ४ जना र रामेछापा जिल्लाको ९ जना गरि १३ पुगेको छ । ९ जनाको घटनास्थलमै र बाँकी चार जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा परी २० जना भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दिएको जानकारी अनुसार बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृत्यु हुनेमा सबै भन्दा धेरै सुनापति गाउँपालिका–५ खनियापानीका परेका छन् ।
दुर्घट्नामा निधन भएकाहरुको सनाखत
मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० बर्षिय ठूला तामाङ, सोही वडाका बर्ष ३६ का खड्ग बहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ बर्षिय कमल तामाङ, सोही वडाका बर्ष १८ का सुदिप बजगाई, सुनापति गाउँपालिका–५ कै २२ बर्षिय विपना तामाङ, काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर,
सुनापति गाउँपालिका–५ का बर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० बर्षिय तुलबहादुर विक रहेका छन् । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
यसैबीच दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा निधन भएको छ ।
अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ बर्षिय रामबहादु श्रेष्ठ, सोही वडाका २४ बर्षिय बृद्ध तामाङ र बर्ष ६० का नेमा तामाङ रहेको प्रहरीले जनाएको छ । अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















