काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले सञ्चालन गरेको महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत बुधबार वृक्षारोपण गरिएको छ । पालिकाको अध्यक्ष प्रेमबहादुर भुजेलको नेतृत्वमा घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण अभियान सुरु गरेको हो ।

यस अघि श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, डुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सफा गरिएको थियो । भुजेलको नेतृत्वमा सो स्थानहरुमा कल्की जातको बिरुवा वृक्षारोपण गरी श्रम अभियानलाई निरन्तरता दिएको गाउँपालिकाले जानकारी दिएको छ ।

श्रम अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाहरु, नागरिक समाज र राजनीतिक दल लगायतको प्रतिनिधिहरु सहभागिता रहँदैै आएको छ ।

गाउँपालिकाका अध्यक्ष भुजेलका अनुसार श्रम अभियान अन्तर्गत आगामी दिनहरुमा पनि पालिकाभित्र रहेको पाटी, पौवा, सडक, सार्वजनिक स्थल सरसफाई गर्ने बताए । वातावरणीय स्वच्छता कायम गर्न यस्तो अभियान शुरु गरिएको बताउँदै भुजेलले यस्तो खालको अभियानले सामूहिक भावनाको विकास हुने र आफ्नो गाउँ स्वच्छ र सफा राख्न सबैलाई सचेतना हुने समेत अपेक्षा गरेको बताए ।

काभ्रे जिल्लामै नमुना कार्यको रुपमा यस अभियानलाई हेर्न थालिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।