वागमती प्रदेश सरकारका तत्कालीन मुख्य मुन्त्री डोरमडि पौडेले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चामल, स्वास्थ्य सामग्रीलगायत राहत वितरण गर्न १२ पटक नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको छ ।

तत्कालीन मुख्यमन्त्री पौडेलसहित सिन्धुपाल्चोक पुगेको मन्त्रीहरूको टोलीले हेलिकोप्टर भाडाबापत ३ घण्टा १५ मिनेटको २५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरेको छ । एक निजी वायुसेवा कम्पनीको हेलिकोप्टर पनि तीन पटक प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त हेलिकोप्टर प्रयोगबापत ३ लाख रुपैयाँ भुक्तानी भएको छ । ‘१ लाख ११ हजारको राहत वितरण गर्न कुल २८ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ । यस्तो अनुत्पादक खर्च रोक्नुपर्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।