काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले सेवा करारमा लिएका कर्मचारीहरुलाई असार १ गतेदेखि हाजिर नगराउन निर्देशन दिएसँगै नेकपा (एमाले) भुम्लु गाउँ कमिटीले विरोध गरेको छ । शुक्रबार एमाले गाउँ कमिटीका सचिव छत्रबहादुर श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कदमको विरोध गरेका हुन् ।
श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा गाउँपालिकाले जारी गरिएको उक्त सूचना खारेज गर्न समेत माग गरेको छ ।
‘भुम्लु गाँउपालिकाले स्थानिय सरकार संचालन ऐन र यसले व्यवस्था गरेको नीतिगत र कानुनी अधिकारलाई प्रयोग गरी स्थानिय सरकार सञ्चालनलाई व्यवस्थित र सेवा प्रवाहलाई सहज बनाउन विधिवत ढंगले करारमा कर्मचारीहरु व्यवस्थापन गरेको थियो ।’ विज्ञप्तिमा भनिएको छ, ‘तर वर्तमान पालिका नेतृत्वले जारी गरेको सूचनाले आधारभुत वर्गका श्रमजिवि कर्मचारीहरुको गाँस खोसिने मात्र नभई सम्पर्ण दैनिक प्रशासनिक कार्यालयहरु ठप्प हुने, भुम्लुको एक मात्र आधारभूत अस्पतालको तथा अन्य स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने, शैक्षिक गतिविधिमा प्रत्यक्ष असर पुग्ने र कृषि तथा पशु भेटनरी सेवा प्रभावित हुने गरी विभिन्न सेवामा कार्यरत कर्मचारीहरुमा राणाकालिन पजनिको झल्को दिनेगरी आतंक मच्चाएको छ ।’
२०७४ सालको स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा एमालेको जितसँगै एमाले कार्यकर्ताहरु भर्ति गरिएको आरोप लाग्दै आएको थियो । अन्य पार्टी समर्थक वा शुभचिन्तक योग्य नै भएपनि आस्था राखेकै आधारमा र आफूलाई भोट नहालेकै आधारमा पूर्व अध्यक्ष गुमानध्वज कुँवरले कर्मचारी भर्नामा राजनीतिक विभेद राख्दै आएका थिए ।
नयाँ जनप्रतिनिधि आउने वित्तिकै करार सेवामा रहेका एमाले कार्यकर्ताहरुलाई हाजिर नगराई नयाँ विधि अनुसार छनौट गर्ने गाउँपालिकाले निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
यस्ताे छ विज्ञप्ति

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















