नेपाल प्रेस युनियन काभ्रेको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । यूनियनको छैंठौं जिल्ला अधिवेशन उद्घाटन भएको १ वर्ष पछि सम्पन्न बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेपछि शनिबार सो कार्यक्रमको आयोजना गरिएको हो ।
सो क्रममा छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय प्रतिनिधी र प्रदेश प्रतिनिधीको पदस्थापन गरिएको थियो । सो अवसरमा निर्वाचन समितिका संयोजक पुष्पराज थापाले नवनिर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । साथै निवर्तमान जिल्ला अध्यक्ष कपिल कोइरालाले नवनिर्वाचित अध्यक्ष नगेन्द्र अधिकारीलाई निर्णय पुस्तिका हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।
जनप्रतिनिधिलाई बधाई
कार्यक्रमा नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रनिधिहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । सो क्रममा जिल्ला समन्वय समितिमा निर्वाचित उपप्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य भगवान अधिकारी, बेथानचोक–१ का वडाअध्यक्षमा निर्वाचित प्रेस युनियनका काभ्रेका निवर्तमान सचिव मधुसुदन तिमल्सिना, मण्डनदेउपुर–११ को अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिपेन्द्र लामालाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले आफ्नो कमजोरी बाहिर ल्याउन अनुरोध गर्दै आलोचनात्मक समाचार लेख्न सञ्चारकर्मीहरुलाई अनुरोध गरे । उनले पार्टीको शुभेच्छुक संस्था भएपनि पार्टीले गल्ती गरे त्यसका बारेमा पनि समाचार लेख्न अनुरोध गर्दै उनले पत्रकारिताको धर्म अनुसार काम गर्न सबैमा अनुरोध गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस काभ्रेका नेता अच्युत पौडेल, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, रोशी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष एवं युनियनका सल्लाहकार भोला थापा, नेपाल प्रेस युनियन काभ्रेका पूर्वअध्यक्ष नारायण सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रे अध्यक्ष सन्तोष चौलागाई लागयतले मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















