काभ्रे जिल्लामा हुँदै नभएको जग्गा किर्ते कागजातका आधारमा बिक्रि गरि ठगी कार्यमा संलग्न हुने एक व्यक्ति पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा धादिङ जिल्लाको तत्कालिन जिवनपुर गाविस वडा नम्बर ५ घर भई हाल बनेपा नगरपालिका वडा नम्बर ९ बस्दै आएका ३७ बर्षीय रवि प्रसाद रेग्मी रहेका छन् ।

यसरी ठगेका थिए रेग्मीले

रेग्मीले बनेपा नगरपालिका वडा नम्बर २ बस्ने ज्ञान बहादुर खड्गी लगाएत ६ जना व्यक्तिहरुको नाममा बनेपा नगरपालिका वडा नम्बर १ स्थित चाईना टाउनको बास्केटबल कोर्ट अगाडी रहेको विभिन्न कित्ताको जग्गा आफ्नो नाममा रहेको छ भनि नक्कली जग्गा धनि पुर्जा र नक्सा सिट समेत देखाई उक्त जग्गा किनवेच गर्नका लागि वैना बापतको रकम समेत लिएका थिए । रेग्मीले नक्कली राजिनामा कागज, घर बाटोको सिफारिस पत्र, जग्गा धनि दर्ता प्रमाण पूर्जा जस्ता कागजातको आधारमा जग्गा पास गरि दिई मालपोत कार्यालयबाट जारी गरिने जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत किर्ते बनाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दै जाने क्रममा रेग्मीले अर्काको नाममा रहेको जग्गा आफ्नो हो भनि पीडितहरुलाई आफ्नो नामको नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा देखाई वैना वापत रकम लिई जग्गा पास गर्नका लागि चाहिने कागजातहरु समेत नक्कली बनाई मालपोत कार्यालयका कर्मचारीहरुसँग समेत आफ्नो राम्रो चिनजान रहेको विश्वास दिएका थिए ।

१ करोड २१ लाख ठगी

रेग्मीले किर्ते जग्गा धनि प्रमाण पूर्जा दिई पीडितहरुबाट १ करोड २१ लाख ५० हजार रुपैयाँ ठगि गरेको खुलेको छ । प्रहरीले रेग्मीलाई बनेपा स्थित घरबाटै पक्राउ गरेको हो । रेग्मीको घर खानतलासी गर्दा प्रमाण लाग्ने नक्कलि जग्गा धनि पुर्जा लगाएतका महत्त्वपुर्ण कागजात, नेपाली ८ लाख पचास हजार रुपैयाँ रकम समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिए ।

ठगीमा को–को थिए संलग्न ?

ठगी कार्यका लागि लेखापढी व्यवसाय गर्ने पनौती नगरपालिका वडा नम्बर ९ का ४५ बर्षी राजन थापा र राजनका श्रीमती ४२ बर्षीय सिता कुमारी थापाले किर्ते कागजात बनाउन सहयोग गरेको खुल्न आएकोले निज लेखनदासको कार्यालयबाट समेत कसुरसँग प्रमाण लाग्ने विभिन्न उपकरणहरु बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला अदालत काभ्रेबाट रबि प्रसाद रेग्मीलाई म्याद थप अनुमती लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । त्यस्तै घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको डिएसपी खतिवडाले जानकारी दिए ।

रेग्मी यसअघि पनि पटक पटक ठगी मुद्धामा संलग्न रहेको पाइएको छ । रेग्मी विरुद्ध २०६८ साल असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र मिति २०६९ साल चैत १० गते प्रहरी परिसर काठमाण्डौबाट ठगी मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट समेत खुल्न आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।