काभ्रे जिल्लाको रोशी गाउँपालिका रोशी गाउँपालिका वडा नम्बर ७ मा अवैध रुपमा सञ्चालन भएको क्रसरहरु माथि ‘एक्शन’ लिएको छ । वडा नं. ७ का वडाध्यक्ष अशोक गौतमले नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाको प्रत्यक्ष लगानी रहेको क्रसर उद्योग सहित ३ क्रसर उद्योगलाई पत्र नै काटेर ‘एक्शन’ लिन शुरु गरिएको हो ।

वडाध्यक्ष गौतमले दर्ता विना नै सञ्चालन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य लामाको लगानी रहेको ओम सत्यसाई क्रसर उद्योग प्रा.लि.लाई लिखित जवाफ सहित कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ ।

सो क्रसर उद्योगले विगत पाँच वर्षदेखि सार्वजनिक जग्गाबाट अनाधिकृत रुपमा ढंगा खानी सञ्चालन गरिरहेको छ । साउन १ गतेबाट पनि सार्वजनिक जग्गामा स्काइभेटर प्रयोग गरेर ढुंगा उत्खनन गर्न थालेपछि वडाको बोर्ड बैठकले उद्योगलाई पत्र काट्ने निर्णय गरेकोे वडा अध्यक्ष गौतमले जानकारी दिए ।

गणेश लामाको यो उद्योगले यो भन्दा अघि कसरी काम गरिहेको छ भन्ने कुराको कतै र कुनै पनि से्रस्ता नभेटिएको वडाध्यक्ष गौतमको भनाइ छ । ‘यो क्रसर उद्योग नेपाली कांग्रेसका नेता गणेश लामाको भन्ने बुझिएको छ । उद्योगले कसरी सार्वजनिक जग्गाबाट ढुंगा निकालिरहेको छ भन्ने कुरा कहीँ कतै पनि स्रेस्ता भेटिदैँन ।’ गौतमले भने, ‘वडा कार्यालयमा पनि छैन् । गाउँपालिकाको कार्यालयमा पनि पाइएन । वडा कार्यालयले नै क्रसरको रोयल्टि लिने गरि खनेको जवाफ पालिकाले दिएको छ । तर वडामा सिफारिस गरेको स्रेस्ता पनि छैन् । एक पैसा आम्दानी भएको पनि देखिदैँन । विगतमा सार्वजनिक जग्गा कसरी खनियो भन्ने कुराको जानकारी सहित उपस्थित हुन भनेका छौँ ।’

वडाध्यक्ष गौतमले नमोबुद्ध नगरपालिकाभित्र रहेका २ वटा क्रसर उद्योगले आफ्नो क्षेत्रमा नोक्सानी पुर्याएको भन्दै वडा कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ ।

नमोबुद्ध नगरपालिका वडा नम्बर ६ मा रहेको ब्लु साईन रोडा ढुंगा उद्योग प्रा.लि.ले रोशी गाउँपालिका वडा नम्बर ७ मा निजी र सार्वजिनक जग्गामा ढुंगा खानी सञ्चालन गरी क्रसर उद्योग सञ्चालन गरिरहेको छ । वडाध्यक्ष गौतमले निजी र सार्वजनिक जग्गामा ढुंगा खानी सञ्चालन गर्नुको आधार सहित खनिज उत्खनन कार्य यथाशिघ्र, तुरुन्त बन्दगरि वडा कार्यालयमा लिखित जवाफ सहित उपस्थित हुन पत्रमा उल्लेख गरेका छन् ।

त्यसैगरी नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा रहेको पशुपति रोडा, ढुंगा उद्योग प्रा.लिलाई वडाध्यक्ष गौतमले पत्र पठाएका छन् ।

सो क्रसरबाट निस्कने डस्ट ब्यवस्थापन नगरी खोलामा हाल्दा क्रसरभन्दा मुनिका किसानहरुले प्रयोग गर्ने सिंचाई कुलोमा असर परेका, कुलोमा डस्ट भरिएर दिनहुँ किसान समस्यामा परेको साथै खोला समेत दुषित भएको भन्दै खोलाछेउमा क्रसर उद्योग सञ्चालन गर्नुको प्रमाण सहित वडा कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ । त्यस्तै वडाध्यक्ष गौतमले लेखेको पत्रमा उक्त उद्योग यथाशिघ्र, तरुन्त बन्द गर्न भनिएको छ ।

जनताको बोली यो भन्दा अघिका जनप्रतिनिधिले सुनेनन्

स्थानीय जनताले यस अघि पनि क्रसर उद्योगहरुको ज्यादतीको विरुद्ध आवा उठाउने गरेपनि तत्कालीन जनप्रनिधिहरुले सम्बोधन नगरेको अध्यक्ष गौतमले बताए ।

‘यो भन्दा अघि पनि क्रसर उद्योगले गरिरहेको ज्यादतीका विरुद्ध नबोलेको होइन । पटक पटक विरोध गर्दा हाम्रो बोली सुनिएन । कुनै मतलब नै हुँदैन थियो ।’ अध्यक्ष गौतमले भने, ‘विगतका जनप्रतिनिधिसँग के साँठगाँठ थियो हामीलाई सरोकारको विषय भएन । तर अहिले हामी कार्यान्वयन गर्ने ठाउँमा छौँ । क्रसर उद्योगले गरिरहेको काम प्रति नयाँ नेतृत्व सन्तुष्टि छैन् । अहिले गरिरहेको ज्यादतीको निक्र्यौल गरौँ । त्यसपछि खानी, उद्योग सञ्चालन गर्न तपाईहरु सक्नु हुन्छ । छलफल गर्न उपस्थितिका लागि वडामै बोलाएको हुँ ।’

क्रसरहरुलाई काटिएको पत्रहरुः

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला