काभ्रे जिल्लाका विभिन्न स्थानीय तहहरुले करार सेवामा रहेको कर्मचारीको करार अवधि नथपेपछि नेकपा एमालले विरोध गरेको छ । आफू स्थानीय सरकारको प्रमुख हुँदा कार्यकर्ता भर्तिकेन्द्र नै बनाएको एमालेले आफ्नो कार्यकर्ताहरुको करार अवधि थप नगरेपछि विरोध गर्दै आएको छ ।
यसैक्रममा नेकपा (एमाले) नमोबुद्ध नगरपालिका कमिटीका अध्यक्ष कृृष्णप्रसाद खनालले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कार्यकर्ताहरुको करार सेवा अवधि नथपेकोमा विरोध गरेको छ । अध्यक्ष खनालले एक प्रेस विज्ञप्ति जारी गर्दै पुनर्वाहलीको समेत माग गरेका छन् ।
नगरपालिकालाई कार्यकर्ता भर्तिकेन्द्र बनाएका एमालेले नगरपालिकाको कदमलाई राजनीतिक तथा अन्य प्रतिसोधका आधारमा विधि र पक्रिया मिचेको आरोप समेत लगाएको छ ।
‘नमोबुद्ध नगरपालिकाको दैनिक कार्य सम्पादन सहज बनाउँदै आम नगरबासी सेवाग्राहीहरुलाई सर्वसुलभरुपमा सेवा उपलब्ध गराउन आवस्यकता र औचित्यताको आधारमा नगरपालिकाको स्थापनाकाल देखि र विभिन्न मितिमा करारमा नियुक्त गरिएका कर्मचारीहरुलाई राजनितीक तथा अन्य प्रतिशोधका आधारमा विधि र प्रक्रिया मिचेर तथा केहि कर्मचारीहरुलाई हुकुमी शैलिमा फोन मार्फत कार्यालयमा हाजिर हुन नआउनु भनेर २०७९।०४।०१ देखि लागु हुनेगरि निष्कासन गरिएको घटना प्रति नेकपा (एमाले) नमोबुद्ध नगर कमिटीको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित सामान्य औपचारिक प्रकृया समेत लत्याउँदै विधि र प्रकृयाको धज्जि उडाएर तथा कार्यसम्पादन मुल्यांकनको पुर्णरुपमा बेवास्ता गर्दै अराजक शैलिमा ईमान्दार, कर्तव्यनिष्ट र अनुभवी कर्मचारीहरुलाई निष्कासन गर्ने वा पदमुक्त गर्ने यस कार्यको नेकपा (एमाले) कडा रुपमा विरोध गर्दछ । नगरपालिकाको यस प्रकारको स्वेच्छाचारी व्यवहार र कार्यशैलीले विधिको शासन पुर्णरुपमा समाप्त पार्न खोजेको हाम्रो पार्टीको निष्कर्ष रहेको छ ।’
एमालेले कर्मचारी अभावका कारण सेवा प्रवाहमा देखिएको समस्या समाधान गरि सहज रुपमा सेवा प्रवाहको वातावरण कायम गर्न र करार म्याद नथपि निष्काशन गरिएका कर्मचारीहरुको म्याद थप गरि तत्काल पुनर्बहाली गर्न नगरपालिकासँग माग गरिएको छ ।
‘प्रतिशोधका आधारमा सबल, सक्षम र ईमान्दार कर्मचारीहरुलाई निष्कासन गर्ने कार्यबाट नगरपालिकाले प्रवाह गर्ने विभिन्न सेवाहरुमा असर पर्नगई सेवाग्राहीहरु समेत प्रत्यक्ष मारमा परिरहेको अवस्था छ । सहज र सुलभरुपमा सेवा प्राप्त गर्न पाउनु पर्ने नागरिकको अधिकार हनन भएकोप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी अभावका कारण सेवा प्रवाहमा देखिएको समस्या समाधान गरि सहज रुपमा सेवा प्रवाहको वातावरण कायम गर्न र करार म्याद नथपि निष्काशन गरिएका कर्मचारीहरुको म्याद थप गरि तत्काल पुनर्बहाली गर्न नगरपालिकासंग नेकपा एमाले जोडदार माग गर्दछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















