काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रमा नगर प्रमुख कुन्साङ लामाको नेतृत्वमा सरसफाई अभियान थालिएको छ । नगरपालिकाको आयोजनामा फुलबारी देखि दाप्चा बजार हुँदै काँक्रे बजारसम्म सरसफाई अभियान शुरु गरिएको हो ।

सरसफाइ अभियानमा नगरप्रमुख लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, सबै वडाअध्यक्षहरु, कार्यापालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी र स्थानीय समेतको सहभागितामा बिहिबार फुलबारी देखि सफाई गर्न शुरु गरिएको छ । आज (शुक्रबार) पनि सरसफाई गरिनेछ ।

पर्यटकीय क्षेत्र नमोबुद्ध, दाप्चा जान समेत प्रयोग हुने उक्त सडकमा फालिएका फोहोर टिप्ने, पहिरो पन्छाउने, ढल, नाली समेत सफा गरिने नगर प्रमुख लामाले जानकारी दिए । ‘सचेतना जगाउने समेत उद्देश्यले अभियानको रुपमा सरसफाई शुरु गरेका हौं ।’ नगरप्रमुख लामाले भने, ‘वडा कार्यालयहरुलाई क्रियाशिल बनाएर सरसफाई कायम गर्छौं ।’ नगरपालिकाले विभिन्न स्थानमा डस्टविन समेत व्यवस्था गरेको छ ।

विश्व वातावरण दिवसको सन्दर्भ पारेर नगरपालिकाले भकुण्डेवेशीमा साताव्यापी सरसफाई अभियान चलाएको थियो । बजारका विभिन्न स्थानमा डस्टविन राखेपछि पहिलाको तुलनामा बजार सफा देखिएको छ । नगरको फोहोर व्यवस्थापनको लागि अन्य पहल समेत भइरहेको नगर प्रमुख लामाले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।