प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काभ्रे स्थित नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र २ वटा पुरुष छात्रावास भवनको सोमबार एक समारोहबीच उद्घाटन गरेका छन् ।
उद्घाटन पश्चात महानिरिक्षक सिंहले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गरे ।
प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान र्पुयाए बापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगद सहित सम्मान गरे । उनले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरु सुरेन्द्र वाग्ले, कृष्ण बहादुर बिष्ट, श्याम सुन्दर सापकोटा, कृष्ण राज अर्याल, शम्भु प्रसाद निरला, हरिहर तिमिल्सिना, राज कुमार नेपाल, निर बहादुर थापा र राज कुमार पोखरेल तथा हाल कार्यरत शिक्षकहरू हरि भक्त कार्की, सन्जोक अधिकारी, रबिना श्रेष्ठ, शिव हरि थापालाई कदरपत्र प्रदान गरेका थिए । सोही समारोहमा उनले तुल्सीभक्त कन्सट्रक्सन प्रालि, तारा निर्माण सेवा र ब्राइट कन्सट्रक्सन प्रालि एवं प्रहरी विद्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गरेका थिए ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले गुणस्तर र प्रभावकारी शिक्षा प्रवद्र्धनमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै नवनिर्मित भवनहरूबाट विद्यार्थीहरूको शैक्षिक वातावरण, बसोबास र मेश सुविधाहरूमा उल्लेखनीय अभिवृद्धि हुने विश्वास व्यक्त गरे । शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कूल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए ।
नेपाल प्रहरी अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनका अतिरिक्त सामाजिक, कल्याणकारी र सेवामूखी कार्यहरूमा समेत सक्रिय रहँदै आएको उनले चर्चा गरे । स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचना लगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रुपमा स्थापित गर्न क्रियाशील रहेको धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार विसीले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
सोही स्कूलका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य व्यक्त राखेकोे उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए । साथै नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त भवनहरु नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको सहयोग गरी कूल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । कूल ६३,८६३.७२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरु २०७६ मंसिर १८ गते सुरु भई विभिन्न चरणमा सम्पन्न भएका हुन् ।
नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका प्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















