काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले जनैपूर्णिमा जात्रा मनाउन २ दिन सार्वजनिक विदा घोषणा गरेको छ । प्रमुख प्रशासकीय अधिकृत केदार ढकालले एक सूचना जारी गर्दै अध्यक्ष स्तरीय निर्णय अनुसार २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
श्रावण २६ र २७ गतेका दिन स्थानीय पर्व विदा अन्तर्गत गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु तथा वडा कार्यालयहरु बन्द रहने सूचनामा उल्लेख छ ।
‘तेमाल गाउँपालिकाको केन्द्रमा अवस्थित श्री नारायणको मन्दिर परिसरमा जनै पूर्णिमाको पावन अवसरमा परापुर्वकाल देखि नै जनैपूर्णिमाको दिन धार्मिक जात्रा हुने गरेको, नारायणस्थानमा लाग्ने सो धार्मिक जात्रा (मेला) तेमालको साँस्कृतिक पर्व कै रुपमा विकासित भएको र तेमाल लगायत आसपासको गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी भक्तजनहरु उपस्थित भै धार्मिक अनुष्ठान गर्ने भएकोले यस जात्रा(मेला)लाई सभ्य, भव्य रुपमा मनाउन जात्रा मिति २०७९ साल श्रावण २६ र २७ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु तथा वडा कार्यालयहरु समेत कार्यपालिकाबाट अनुमोदन गर्ने गरी गाउँपालिकाको अध्यक्षस्तरीय मिति २०७९ । ०४ । २४ को निर्णयानुसार उक्त २ दिन सार्वजनिक विदा (स्थानिय पर्व विदा) गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ सूचनामा लेखिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















