काभ्रे जिल्लाको बनेपा नगरपालिकाका उप–मेयर विमला सापकोटा दाहालको दादागिरीको सत्तारुढ गठबन्धनले विरोध गरेको छ । बनेपा नगर स्तरीय पाँचदलिय गठबन्धन संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध गरेको हो ।
मेयर शान्ति रत्न शाक्यले करारका कर्मचरी हटाएको भन्दै उमेयर दाहाल मयेरको कार्यकक्षमा गएर दादागिरी शैलीमा मेयर शाक्यले लेखेको पत्र च्यातेकी थिइन् । सो पत्र च्यातेर सापकोटाले मेयरको कुर्सी तिर अस्वभाविक ढंगले फ्याँकेकी थिइन् ।
मंगलवार बनेपा नगरस्तरीय गठबन्धनको तर्फबाट नेपाली काँगे्रसका नगर सभापति मशेश कुमार कर्माचार्य, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष सुरज के.सी, नेकपा (एकिकृत समाजवादी)का रघुबर चौप्रधान, राष्ट्रिय जनमोर्चाका सुवर्ण विक्रम थापा र नेपाल समाजवादी पार्टीका श्याम प्रसाद सेवाचार्यको हस्ताक्षरमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ ।
गठबन्धनले जारी गरिएको विज्ञप्तिमा मिति २०७९ साल साउन २३ गते– कुनै पनि काम कुराहरु कसैलाई चित्त नबुझेको भए यसको निराकरणका लागि बहस छलफल र कानून सम्मत ढंगले जान सकिने अवसरलाई लत्याउँदै बनेपा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा उपप्रमुख बिमला सापकोटाले अमर्यादित, असहिष्णु र पदीय मर्यादा विपरीत रहेर चिठ्ठी पत्र च्यातचुत गर्दै कार्यपालिकाका सदस्यले छलफल गर्न आग्रह गर्दा समेत त्यसको पूर्ण अवज्ञा गरी अस्वभाविक हर्कत प्रदर्शन गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘विधि, प्रकृया, कार्यविधि र अधिकार क्षेत्रका बारेमा बहस र छलफल गराउनुपर्ने व्यक्तिबाट गुण्डागर्दी शैली प्रदर्शित हुनु असोभनिय भएको हाम्रो ठहर छ । साथै, विगतको नगरको नेतृत्वबाट कतिपय अनावश्यक कर्मचारी राखेर आर्थिक बोझ थपेकाले परिणाममुखी कामको प्रत्याभूति नभएसम्म करार अवधि थप नगर्न र बनेपा नगरपालिकाको फोहोर व्यवस्थापन, एकिकृत खानेपानी संचालन गर्न केन्द्रित हुन नगर प्रमुखले गरेको आग्रहलाई लत्याउँदै स्थानीय सरकारको जिम्मेवारी र दायित्वबाट पछाडी धकेल्ने प्रपञ्च किमार्थ उचित नभएकाले यस्तो क्तियाकलापबाट पछाडी हटेर एकता, सहमति र सहकार्यमा जुट्न संयुक्त गठबन्धन आग्रह गर्न चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
नगरप्रमुख शाक्यले यसअघि नेकपा एमालेले नियुक्त गरेका प्रेस सल्लाहकार, कानुनी सल्लाहकार, दुई जना स्वकीय सचिव, पर्व पुजा समिति र सहकारी समितिको करार नविकरण नभएको पत्रमा हस्ताक्षर गरेका थिए । नगरप्रमुख शाक्यले आईतवार ६ जना करारका कर्मचारी हटाएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















