आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काभ्रेका १७ मतदान केन्द्र परिवर्तन भएको छ । जिल्ला निर्वाचन कार्यालय, काभ्रेका जिल्ला निर्वाचन अधिकारी उमेश राइका अनुसार जिल्ला मतदान केन्द्र निर्धारण समितिको गत सावन १२ गते बसेको बैठकले मतदान केन्द्र परिवर्तन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले काभ्रेका १७ मतदान केन्द्र परिवर्तन गरिएको निर्वाचन अधिकारी राईले जानकारी दिए ।

कार्यालयका अनुसार खानीखोला गाउँपालिका–२ स्थित फलामेटारमा रहेको साविक गाविस भवन मतदान केन्द्र बालविकास माध्यमिक विद्यालयमा सारिएको छ । यस्तै तेमाल गाउँपालिका–९ मा रहेको कुशेश्वर मावि मेच्छे पौवाको मतदान केन्द्र वडा कार्यालय मैनाजाङमा सारिएको छ ।

नमोबुद्ध–२ को जनकल्याण मावि बुच्चाकोटको केन्द्र वडा कार्यालयमा, नमोबुद्ध नपा वडा नं ३ को कालिका आधारभूत विद्यालय भेँडाबारीबाट वडा कार्यालयमा सारिएको छ । त्यस्तै वडा नं ६ को कालिगङ्गा आधारभूत विद्यालय चरङ्गेफेदीबाट वडा कार्यालयमा सारिएको छ ।

त्यसैगरि नमोबुद्ध–९ को बागदेवी आधारभूत विद्यालय बाग्माराबाट नेपाने बुद्धपार्कमा मतदान केन्द्र सारिएको छ भने वडा नं १० को च्यामथुम्का पाटीबाट पञ्चकन्या माविमा सारिएको छ ।
त्यस्तै पनौती नपा–२ को वडा भवन कुशादेवीबाट कुशादेवी माविमा सारिएको छ । पनौतीकै वडा नं २ को ३ नं वडा कार्यालय नयाँपुलबाट विहावार आवासीय माविमा केन्द्र सारिएको छ भने ६ नं को वडा कार्यालय दलिञ्चोकबाट स्थानीय गोरखनाथ आधारभूत विद्यालयमा केन्द्र सारिएको छ ।

पाँचखाल नपा–३ समाजकल्याण प्रावि तामाघाटबाट दुग्धेश्वरी माविमा सारिएको कार्यालयले जनाएको छ । महाभारत गाउँपालिका–५ को तत्कालीन गाविस भवन बुढाखानीबाट ग्रामोन्नती मावि चार किल्लामा केन्द्र सारिएको हो । वडा नं ६ को गाविस भवन बनखुचौरबाट आजाद माविमा सारिएको छ ।

त्यस्तै रोशी गाउँपालिका–५ को गाविस भवन लुरपुङ्गडाँडाबाट भूमिस्थान माविमा केन्द्र सारिएको हो । बनेपा नपा–१२ का दुवै केन्द्र सारिएको छ । वडा कार्यालय देउरालीबाट गणेशभारती माविको नयाँ भवनमा केन्द्र सारिएको हो भने गणेश भारती माविको नयाँ भवन देउरालीबाट वडा कार्यालय देउरालीमा सारिएको छ ।

परिवर्तन हुने मतदान केन्द्रका सबै मतदाताको नामावलीसमेत सारिएको कार्यालय प्रमुख राईले बताए । जिल्लामा स्थानीय तह निर्वाचनमा एक सय ८९ वटा मतदानस्थल तथा तीन सय ८१ मतदान केन्द्र व्यवस्थित गरिएको थियो । स्थानीय तह निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका थिए । उक्त निर्वाचनमा जिल्लामा तीन लाख तीन हजार पाँच सय ६० मतदाता रहेकामा आगामी आम निर्वाचनमा आठ हजारभन्दा बढी मतदाता थपिने भएको कार्यालयले जनाएको छ ।