देशैभरि मिटरव्याज आतंक फैलिएपछि सरकारले मिटर ब्याजीविरुद्ध उजुरी दिन आव्हान गरेपछि काभ्रेमा पनि उजुरी दिनेहरुको संख्या धेरै रहेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेमा ३० जनाभन्दा बढी मिटरब्याजी विरुद्ध उजुरी दिएका छन् ।
१७ जना पीडितले ३० भन्दा धेरै मिटरब्याजी विरुद्ध जाहेरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिएका छन् ।
‘सरकारले दिएको म्याद भित्र प्रशासन कार्यालयमा १७ जना पीडितहरुले ३० जना भन्दा बढी विरुद्ध उजुरी गरेका छन् ।’–सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने । सुनुवारका अनुसार म्याद भित्र आएका उजुरीका बारेमा अध्ययन भइरहेको छ । सरकारले उजुरी पछि कस्तो कारबाही अघि बढाउने भन्ने निर्णय नगरेकाले उजुरी गर्ने पीडित र पीडक दुवैको नाम गोप्य राखिएको बताइएको छ ।
मिटरब्याजीहरुले पीडितहरूसँग रकम लिनु अगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले चेक अनादर मुद्दामा जेल जान थालेका छन् । मिटरब्याजीहरुले खाली चेकमा मनलाग्दी रकम भरिरहेका छन् ।
मिटर ब्याज लिनेमा सहकारी पनि
मिटर ब्याज लिनेमा काभ्रेका धेरै सहकारीहरु पनि संलग्न रहेको खुलेको छ । सरकारले मिटरब्याजी विरुद्ध उजुरी दिन आव्हान गरेसँगै सहकारीका प्रबन्धकहरू, सञ्चालकहरूविरुद्ध पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । काभ्रेका झिगु लुनीभा बचत तथा ऋण सहकारी संस्था, स्वर्णिम सहकारी, गतिशील सहकारी लगायत थुप्रै सहकारी किलोमिटर ब्याज लिनेको सूचीमा छन् ।
को–को विरुद्ध छ उजुरी
स्रोतका अनुसार जिल्लाको विभिन्न क्षेत्रमा कारोबार गर्ने शिखरपुर होक्से घर भएका प्रताप सिं तामा, बनेपाका प्रवीण लामा, दिनेश राउत, उमेश राउत, मनीषा मर्धिकर्मी राउत क्षेत्री, नवराव बानियाँ, राजकुमार बराल, आसमान तामाङ, दिपक थापा, बलराम सुवाल, बलराम पाठक, पवन तामाङ, अशोक लामा, उर्मिला प्रधान, रामबहादुर कार्की, रक्तिम तामाङ लगायत ३० भन्दा धेरै विरुद्ध उजुरी दर्ता भएको छ ।
यसरी उजुरी दर्ता भएपछि मिटरब्याजीहरुको भागाभाग भएको छ । पिडितहरु उजुरीको लागि जिल्ला प्रशासन कार्यालयसम्म आउनका लागि समेत उनीहरुले विभिन्न तरिकाले रोक्ने कामहरु भएको बताइन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















