नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठक मंगलबार नमोबुद्ध नगरपालिका वडा नं. ७ स्थित भकुण्डेमा सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज) ले आगामी मंसिर ४ गते हुनगइरहेको निर्वाचनको तयारीमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए । ‘निर्वाचन अब धेरै टाढा छैन, तपाईंहरु निर्वाचनको तयारीमा लाग्नुहोस् ।’ इन्चार्ज लालध्वजले भने, ‘कुनैपनि मुल्यमा हामीले जित्नुपर्छ । निर्वाचनलाई संघर्षको भिन्न रुपमा लिन जरुरी छ । यो संघर्षमा माओवादीलाई हार्ने छुट छैन ।’

उनले गठबन्धनको जरुरीकोबारेमा समेत कार्यकर्तालाई प्रष्ट पारे । ‘मुलुकको राष्ट्रिय परिस्थिति र हाम्रो पार्टीको आत्मगत परिस्थितिले गर्दा गठबन्धन गर्न जरुरी भएको हो ।’ उनले भने, ‘त्यसैले काभ्रेमा अब गठबन्धनलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ । पार्टीको निर्देशनलाई कडाइका साथ पालना गर्न सबैलाई अनुरोध गर्दछु ।’

इन्चार्ज लालध्वजले आफ्ना कार्यकर्तालाई निरास नहुन अनुरोध गर्दै यो निर्वाचन क्षेत्रमा जित्ने गरि लाग्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ मा काँग्रेसले टिकट नपाउने भएपछि काँग्रेसमा निरास छाएको लालध्वजले दावी गरे । ‘कांग्रेसले काभ्रेमा १ नं. निर्वाचन क्षेत्रमा एउटा प्रदेस सभा र २ नं. निर्वाचन क्षेत्रमा एउटा प्रदेश सभा पाउने भो भनेर काँग्रेस निरास छ ।’ उनले भने, ‘हामीले जितेको क्षेत्र हामीलाई नै चाहिन्छ भनेर दावी गरेका छौं । साथै २ नं. निर्वाचन क्षेत्रमा एउटा प्रदेश सभामा हामीले दावी प्रस्तुत गरेका छौं ।’

बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, केन्द्रिय सदस्यहरु रुकु चौंलागाईं, कृष्ण अधिकारी, वागमती प्रदेश सचिव इन्द्रबहादुर थिङ, प्रदेश सचिवालय सदस्य दिननाथ गौतम, सांसद गंगाबहादुर तामाङ, जिल्ला समन्वय समितिका संयोजक भोला अर्याल, सचिव दैवलाल घिसिङ लगायतले मन्तव्य राखेका थिए ।

बैठकमा प्रतिनिध सभा काभ्रे क्षेत्र नं. १ का नेताहरुको सहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।