नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज)ले यो मुलुकमा छुवाछूतको अन्त्य माओवादीले मात्र गर्न सक्ने दावी गरेका छन् । नेपाल दलित मुक्ति मोर्चा, काभ्रे जिल्ला समन्वय समितिको तेस्रो विस्तारीत बैठकलाई सम्बोधन गर्दै दोङले यस्तो दावीगरेका हुन् ।

दोङले माओवादीको तागतले संविधानमा दलितहरुको अधिकार लेख्न सफल भएको समेत बताए । ‘दलित मुक्तिको लागि आवाज उठाउने पार्टी माओवादी हो । त्यसैले छुवाछूतको अन्त्य माओवादीले मात्र गर्न सक्छ ।’ उनले भने, ‘माओवादीको पछि किन लाग्ने ? सहि ढंगले बुझ्न जरुरी छ । सबै के कुरामा प्रष्ट हुनुपर्छ भने माओवादीको तागतले संविधानमा दलितको अधिकार लेख्न सफल भयो ।’

अझै पनि समाजमा छुवाछूत र विभेद रहेको बताउँदै इन्चार्ज दोङले अब आफूहरु सामाजिक विभेदको अन्त्य गर्न लागिरहेको बताए । ‘जनयुद्धले एउटा कोर्स पूरा गर्‍यो । त्यो भनेको राज्यको पुनर्संरचना भयो ।’ उनले भने, ‘अब सामाजिक बिभेदको अन्त्य गर्न हामी लागिरहेका छौ । संविधान निर्माण र्गयौ अब संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्दै लाने चरणमा छौं । संविधानले गरेको ब्यबस्था हेर्दा हामीले जितेका छौ ।’

पार्टी भित्र समेत महिला र दलितको बिशेष अधिकारलाई व्यबहारिक रुपमा अगाडि बढाएको बताउँदै दोङले समाजवादी क्रान्तिमा मात्र सामाजिक विभेद अन्त्य हुने भएकोले आफ्नो पार्टी त्यो बाटोमा रहेको बताए ।

एमाले काँग्रेसलाई यतिखेर दलितलाई उम्मेदवार त बनाइयो तर कसरी घरभित्र छिराउने भनेर चिन्ता भएको समेत बताउँदै उनले निर्वाचन नजिकिदै गरेको दलित समुदायलाई माओवादीको पक्षमा मतदान गर्न आव्हान गर्दै माओवादीले जिते मात्र दलितको पूर्ण मुक्ति सम्भव रहेको बताए ।

बैठकमा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सह–संयोजक तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तेजबहादुर मिजार, मोर्चाको केन्द्रिय सदस्यद्वय डा. बुद्धि नेपाली, बिष्णु मिजार, यज्ञ बहादुर दर्जी, प्रदेश कमिटी सदस्य गोपाल नेपाली, माओवादी केन्द्रको धुलिखेल नगर कमिटी अध्यक्ष पृथ्वी थापा लगायतका सहभागी थिए । कार्यक्रममा जिल्ला भरिका दलित नेताहरुको सहभागीता रहेका थिए ।

बैठक प्रदेश कमिटी सदस्य तथा जिल्ला संयोजक दिपेन्द्र सुर्खेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।