बिवेक वाइबा तामाङ

हो, जहाँ मानवताको सम्मान र ईज्जत् हुन्छ। धनसम्पती भन्दा मान्छेको महत्व बढी हुन्छ । पुँजीवादी ब्यवस्थामा पैसा नै सबैथोक हो भन्ने बुझाई, ब्यवहार र संस्कार हुन्छ । साथै सोच र चिन्तन पनि उपभोक्तावादी नै हुन्छ । जोसंग पैसा हुन्छ, उसकै ईज्जत् ठूलो,मानसम्मान,पद प्रतिष्ठा पनि उसैलाई दिने स्थितिमा पुगेको छ, हाम्रो समाज । जे-जसरी पैसा कमाउने मान्छे, समाजसेवी, समाजको अगुवा बन्न पुग्छ । र, उसैको कुरा समाजले पत्याउने वातावरण बनेको छ ।

कम्युनिस्ट विचार एउटा आदर्श विचार, सिद्धान्त र दर्शन भए पनि त्यसलाई कुरुप बनाउने काम त्यसको नेतृत्वले गर्दै आएको छ । यतिबेला ठुला भनिने कम्युनिस्ट पार्टी र तिनको नेतृत्व बैचारिक एवम् सैद्धान्तिक रूपमा स्खलित बनेका छन । कम्युनिस्ट आदर्श र सिद्धान्तको आवरणमा दलाल पुजीपतिको सेवक बन्न पुगेका छ्न । तर,मातहतका नेता कार्यकर्तालाई क्रान्तिकै भ्रमपुर्ण राग अलापीरहेका छ्न् । यस्तो भ्रममा कार्यकर्तालाई कहिलेसम्म राख्ने हुन् ?

जब सपना सहितको भ्रम टुट्छ । त्यतिबेला होस् आउँछ । पैसाको अगाडि मान्छेको क्षमता, ज्ञान, त्याग र सीप आदि कुरा गौण बन्छ । हामी मान्छेहरू सबै उपभोक्तावाज चिन्तनले ग्रसित छौं ।अझ त्यसमा अहिलेका कम्युनिस्टहरुको ब्यवहार त झनै सामन्ती छ । हाम्रा कम्युनिस्ट नेतृत्व पनि लाभहानी हेरेर कार्यकर्ताहरु माथी ब्यवहार गर्छन् । र, कम्युनिस्ट विचार, सिद्धान्तको “स” नबुझ्ने जो कोहिलाई पार्टीको जुनसुकै पद दिन तयार हुन्छन् । लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने बिधिपद्धतिको कुरा सबै ब्यर्थ बन्न पुगेको छ ।

साच्चै भन्ने हो भने कम्युनिस्ट विचार त्यो हो, जसले सिद्धान्तत धनसम्पतिको(पैसा) को प्रभुत्वलाई खारेज गरेको हुन्छ । र, मान्छे (नेता, कार्य कर्ता) उसको सीप, ज्ञान र क्षमताको आधारमा श्रेष्ठ हुन्छ वा कहलिन्छ । त्यति मात्र होइन, नेता तथा कार्यकर्ता जनताको बीचमा कति लोकप्रीय छ्न् भन्ने कुरा ततिनका कार्यशैली र ब्यवहारले स्पष्ट पार्थ्यो । तर, अहिले कम्युनिस्ट आन्दोलन त्यो विचार र सिद्धान्तबाट कतै बिमुख त बनेको होइन ? भन्ने प्रश्न चौतर्फी उठेको छ ।

साम्यवाद भनेको समाजको त्यो अवस्था हो, जहाँ मान्छे आधारभुत आवश्यकताका लागि यताउता भौंतारिनु पर्दैन । त्यतिबेला बिश्व पुर्णतया शासनप्रणालीको एउटै इकाई बन्छ भन्ने हो । विश्वभरी एउटै मुद्रा प्रचलनमा आउनेछ । भाषा संस्कृती अलग अलग भए पनि एउटै सोच र विचारले निर्देशित हुनुपर्ने छ । त्यसबेला कसैले कसैलाई हेप्ने र चेप्ने अवस्था हुँदैन भन्ने मान्यता बिकास हुन्छ । एक देशले अर्को देशको सार्भौमिकता माथी आच आउने काम नगर्ने वातावरण निर्माण हुन्छ ।

नेपालका कम्युनिस्टहरु आफ्नो विचार ,सिद्धान्तको कभरमा आफ्नो स्वार्थपुर्ति हुने काममा उद्द्त छ्न् । आफुलाई सधैं सत्ताको केन्द्रमा पुर्याउन विभिन्न दाउपेच गर्दै बिदेशी शक्तिकेन्द्रको दलाली गर्छन् । सत्ता र भत्ताको लागि दलाल पुँजीवाद र माफिया हितरक्षा गर्ने ऎन कानुन बनाउँछ्न । त्यसको ज्वलन्त उदाहरण यसैबीच संसदबाट पारित गरिएको नागरिकता बिधेयक र एमसीसीलाई लिन सकिन्छ । अझै त्यो भन्दा पनि ठुलो बदमासी एसपीपीबाट हुँदैछ । वर्तमान सरकारले एमसीसी पास गरेसंगै मुलुकमा क्रमिक रूपमा अमेरिकी सेना र तिनका प्रतिनिधिहरु आउने क्रम बढ्दो छ ।

श्रमजीवी, मजदुर, किसान र गरिब युवावर्ग महिनैपिच्छे बढ्ने महँगी र वेरोजगारीको चपेटामा छ्न् । तर, सत्ता गठबन्धन कानमा तेल हालेर बस्छ । आर्थिक मन्दिले गरिब भुइँ मान्छेहरू मध्यमवर्गको समेत हालत खराव हुँदै गएको छ। सरकार गरिब लक्षित कार्यक्रम ल्याएर गरिबी उन्मुलनको कुरा गर्छ । तर, ब्यवहारमा कुनै योजना प्रभावकारी कार्यन्वयन गर्दैनन् । आफ्ना कार्यकर्ता पोस्नकै लागि विभिन्न कार्यक्रम अनावश्यक बनाईएको छ । राजनैतिक दलहरुको अर्थनीति सहि नभएकोले हरेक पटक सरकारको नेतृत्व गर्दा पनि दलाल पुजीपतिकै हितरक्षा गर्ने नीति बन्ने गर्छ । त्यसप्रकारको नीतिले धनी रातारात अझै धनी बन्ने र गरिब झन्झन् गरिब बन्दै गएको अवस्था छ ।

त्यसैले जबसम्म समाजमा पुजीवादी उत्पादन सम्बन्ध र कम्युनिष्ट नेतृत्वमा हावी सामन्तवादी सोच, शैली र ब्यवहार कायम रहन्छ, तबसम्म जोसुकै प्रधानमन्त्री वा राष्ट्रपति बने पनि संघ होस् कि स्थानीय तहका सरकार हुन् । त्यसले आम भुइँ मान्छेको अवस्था र आर्थिक उन्नति हुन सक्दैन । तर केहि सिमित दलाल एवम् बिचौलियालेे मात्रै लाभ पाउने स्थिति बन्दै आएको छ । यस्तो ब्यवस्थामा जनचाहना अनुरुप लोकतान्त्रिक मुल्यमान्यता सहितको परिवर्तन असम्भव छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।