आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा माओवादी केन्द्र वागमती प्रदेश लागेको छ । माओवादी केन्द्र बागमती प्रदेशको आइतबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले निर्वाचनलाई लक्षित गरी विभिन्न जिल्लामा चुनावी कमाण्डर तोकेको छ ।
काभ्रेको लागि पार्टीको पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज) र केन्द्रिय सदस्य रुकु चौंलागाईं (रचना)लाई कमाण्डर तोकेको बताइएको छ ।
काभ्रेमा निक्कै स्थापित र चर्चित नेताको रुपमा चिनिएका लालध्वज अनुभवी नेताको रुपमा चिनिन्छ । प्रतिनिधि सभाको टिकटको मुख्य दावेदारको रुपा चर्चामा रहेका उनी कुशाल कमाण्डरको रुपमा समेत चिनिएका नेता हुन् ।
त्यसैगरि पार्टीका जिल्ला अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेकी नेता रचना पनि काभ्रेमा चर्चित र स्थापित नेताको रुपमा चिनिन्छ । प्रतिनिधि सभा क्षेत्र नं. २ का स्थायी बासिन्दा रचना पनि टिकट दावेदरमै रहेको चर्चा चलेको छ ।
यसैबीच बैठकले बागमतीमा पर्ने सबै जिल्लाको चुनावी कमाण्डर चयन गर्ने क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्डर भने पुत्री रेनु दाहालले सम्हाल्ने भएकी छन्।
भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो । प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनाव लड्दैछन् ।
बैठकले चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ। क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन् ।
यसैगरी काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादी नेता डीपी ढकालले जानकारी दिए ।
काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्डर भने मुक्ति प्रधानले गर्ने भएका छन् । भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका भने ललितपुरमा क्षेत्र नम्बर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नम्बर ३ मा हरि दाहाल र पद्मा राईलाई कमाण्डर बनाउने निर्णय गरेको माओवादी बागमती प्रदेश समितिले जनाएको छ ।
धादिङमा भने शालिकराम जम्कट्टेल एक्लैलाई चुनावी कमाण्डर बनाइएको छ । सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाललाई चुनावी कमाण्डर बनाएको छ।
दोलखामा देवी खड्का कमाण्डर चयन हुँदा रामेछापमा श्यामकुमार श्रेष्ठ बनेका छन् भने सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी चुनिएका छन्।
मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तान कमाण्डर चुन्ने निर्णय भएको छ भने नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नम्बर १ र विमला सुवेदी क्षेत्र नम्बर २ का लागि चुनावी कमाण्डर बनाइएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















