आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) काभ्रेले उम्मेदवारको लागि २२ जना सिफारिस गरेको छ । आइतबार बसेको जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ र २ का लागि उम्मेदवार सिफारिस गरेको जिल्ला नेता सिएस दोङले जानकारी दिएका छन् ।

प्रनिधिसभाको लागि २ जना र प्रदेशसभाको लागि ४ जना गरि ६ जना मात्र उम्मेदवार आवश्यकता रहेकोमा एसले २२ जना उम्मेदवार सिफारिस गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत ३ जना उम्मेदवार आवश्यकता रहेकोमा यहाँ भने सर्वसम्मत भएको छ । तर १ नं. क्षेत्रमा भने १९ जना उम्मेदवार सिफारिस भएको देखिएको छ । एकीकृत समाजवादी भित्र पदलोलुप्ताको पराकाष्टको रुपमा यसलाई लिन थालेको छ ।

अरु पार्टीहरुले भने अहिलेसम्म उम्मेदवार सिफारिस गरिसकेको छैन ।

प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ बाट कोको भए सिफारिस ?

दोङका अनुसार प्रतिनिधि सभा काभ्रे क्षेत्र नं १ को लागि प्रत्यक्ष तर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरमा लाप्साङ लामा पाख्रिन, समीप त्रिपाठी, रेशम लाल श्रेष्ठ र जमुना सापकोटा रहेका छन् । त्यसैगरि समानुपातिक तर्फ ६ जनाको नाम सिफारिस गरेको छ । जसमा मंगल लाल श्रेष्ठ, लोक बहादुर गौतम, ज्ञानेन्द्र तामाङ, निशा लामा, दोर्जे लामा, पाल्साङ लामा रहेका छन् ।

यसैबीच प्रदेश सभा (क) बाट प्रत्यक्ष तर्फ मुकुन्द गौतम सर्वसम्मत भएका छन् भने समानुपातिक तर्फ प्रदीप लामा, पासाङ डोल्मु लामा, यशु लामा, प्रताप लामा रहेका छन् । प्रदेश सभा (ख) मा भने ४ जनाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । जसमा पुष्कर तिमल्सिना, कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, सञ्जिता लामा रहेका छन् भने समानुपातिक तर्फ कृष्ण लामा, रामदेवी तामाङ र सरोज कुँइकेल रहेका छन् ।

को–को परे क्षेत्र नं. २ बाट सिफारिस ?

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ को लागि एकीकृत समाजवादी का केन्द्रीय सदस्य विदुर सापकोटालाई प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै बैठकले नेकपा एसका केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सदस्य एवं बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्साललाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा (क) मा सर्वसम्बत उम्मेदवार सिफारिस गरेको छ ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा (ख) मा नेकपा एस काभ्रे जिल्ला कमिटी अध्यक्ष, बागमती प्रदेश सांसद एवं कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईलाई सर्वसम्बत सिफारिस गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।