काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङले कुनै पनि भ्रममा नपर्न वडाबासीमा अपिल गरेका छन् । वडा कार्यालयको जग्गा र भवन निर्माणको विषयलाई लिएर अख्तियारले पत्र काटेपछि वडा अध्यक्ष तामाङले वडाबासीलाई कुनै पनि भ्रममा नपर्न अपिल गरेका हुन् ।
वडा कार्यालय निर्माणको लागि जग्गा खरिदमा भ्रष्टचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेपछि वडा कार्यालयसँग स्पष्टीकरण मागेको थियो । सोही विषयलाई लिएर सामाजिक सञ्जाल र केही अनलाइन पत्रिकाले भ्रम फैलाउने गरि प्रचार प्रसार गरेपछि वडा अध्यक्ष तामाङले यसको प्रतिक्रिया दिएका छन् ।
उनले अख्तियारमा परेको उजुरी कुनै सत्यता नभएको बताएका छन् । वडा कार्यालय भवन निर्माणको लागि जग्गा खरिद नगरेको र भवन निर्माण पनि ठेक्का प्रक्रिया मार्फत भएकोले उक्त उजुरीमा उल्लेख गरेको आरोप झूट भएको उनले बताए ।
‘जग्गा हामीले खरिद गरेकै होइन, निःशुल्क उपलब्ध भएको हो । अनि कसरी आर्थिक चालखेल हुन्छ ?’ उनले भने, ‘जनताको लागि केही गरौं भनेर हामी यहाँ आएका हौं । उजुरीमा जुन प्रकारको आरोप लगाएको छ यस्तो निकृष्ट काम मबाट हुँदैन । हुनेपनि छैन ।’
वडा भित्र उचित स्थान र जग्गा नहुँदा वडा कार्यालय भवन निर्माणमा समस्या भइरहेको बेला तत्कालीन समयमा वडा सदस्य तथा हाल कार्यपालिका सदस्य समेत रहेका रमिला पन्तले वडा कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए । सोही जग्गामा भवन निर्माणका लागि गाउँपालिकाले बजेट व्यवस्था गरि टेन्डर मार्फत भवन निर्माण भएको हो ।
वडा अध्यक्ष तामाङका अनुसार वडा कार्यालय निर्माणको लागि सार्वजनिक रुपमै जग्गा प्रदानको लागि आव्हान गरिएकोमा पन्तले जग्गा दिएका थिए । त्यसपछि २०७६ साल जेष्ठ २८ गते तत्कालीन वडा सचिव रामचन्द्र अधिकारीको रोहवरमा वडा कार्यालयको नाममा जग्गा पास भएको थियो ।
निःशुल्क दिए बापत वडा अध्यक्ष तामाङलाई के आधारमा जग्गा दिनुपर्ने हो प्रश्न उठेको छ । ‘एकातिर वडा कार्यालय भवन निर्माणकाले निःशुल्क जग्गा दिनुभएको छ, अर्को तिर फेरि मलाई किन र केको आधारमा जग्गा दिनुहुन्छ उहाँले ? त्यसैले यस्ता कुराको पछि लाग्नु हुँदैन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















