तामाङ पत्रकार सङ्घ केन्द्रीय कार्य समितिको तेस्रो पूर्ण बैठकबाट चरिकोट घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न गरेको छ । शनिवार पर्यटकीय एवं ऐतिहासिक स्थल दोलखाको चरिकोटमा अध्यक्ष सुवास योञ्जन तामाङको अध्यक्षतामा बस्दै ९ बुँदे चरिकोट घोषणापत्र सार्वजनिक गरेका छन् ।

बैठकले तामाङ समुदायको भाषा, संस्कार, संस्कृति तथा ऐतिहासिक स्थलहरूको स्थलगत अध्ययन तथा अनुसन्धान गर्दै आफ्नो मौलिक पहिचानलाई संरक्षण तथा संवर्द्धन गर्दै आफ्नो मुद्दाहरूलाई जनमानससम्म पुर्‍याउने अठोट गरेका छन् ।

यी हुन् ९ बुँदे चरिकाेट घाेषणा–पत्र

१. पर्यटकीय स्थल दोलखाको सदरमुकामस्थित चरिकोटमा रहे पनि ओझेलमा परेको ऐतिहासिक चरीघ्याङलाई प्रचारप्रसारका साथै प्रवर्द्धन गर्न गराउन सम्बन्धित निकायहरूलाई अनुरोध गर्ने र तामाङ पत्रकार सङ्घले पनि प्रचारप्रसारमा जोड दिने ।

२. बागमती प्रदेशले सरकारी कामकाजी भाषाका लागि तामाङ र नेपाल भाषालाई हालै प्रक्रियामा अघि बढाउने निर्णय गरेकोमा उक्त निर्णयको स्वागत गर्दै बागमती प्रदेश सरकारलाई धन्यवाद दिने । अब बागमती प्रदेशमा तामाङ भाषा सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा आउने भएकोले त्यसलाई पूर्णता दिनका लागि तामाङ समुदायभित्र रहेको लिपिको विवादलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन भाषाका क्षेत्रमा क्रियाशील सम्बन्धित निकायलाई आग्रह गर्ने ।

३. श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारहरूले नियमित पारिश्रमिक पाउने वातावरण निर्माण र पेसागत सुरक्षा हाम्रो मुख्य प्राथमिकताका विषय हुन् । त्यसैले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, श्रमजीवी पत्रकारको पारिश्रमिक बढाउन तथा पत्रकारहरूले नियमित पारिश्रमिक पाउने वातावरणको निर्माण र पेसागत सुरक्षाको वातावरण बनाउन नेपाल सरकारसँग नेपाल तामाङ पत्रकार सङ्घ जोडदार माग गर्दछ ।

४. तामाङ भाषामा प्रकाशन/प्रसारण हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट लोक कल्याणकारी विज्ञापनको व्यवस्था गर्न माग गर्दछ ।

५. नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न पत्रकारिता पुरस्कारको सवालमा विशेष मापदण्ड बनाई तामाङ भाषामा पत्रकारिता गर्ने पत्रकारलाई अनिवार्य समेट्न माग गर्दछ ।

६. राष्ट्रिय सञ्चार गृहहरू, सरकारबाट नियुक्ति गरिने सरकारी सञ्चार माध्यममा तामाङ समुदायबाट समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न तामाङ पत्रकार सङ्घ माग गर्दछ।

७. तामाङ सञ्चारकर्मीहरूले आ-आफ्नो सञ्चार गृहबाट भाषा र लिपिको विवादलाई निचोडमा पुर्‍याउनका लागि बहस तथा अन्तरक्रिया गर्ने/गराउने र यस विषयमा नेपाल तामाङ घेदुङलाई ध्यानाकर्षण गराउने ।

८. आदिवासी जनजातिको मुद्दा र पत्रकारहरूको हकहितमा काम गर्ने सङ्घ/संस्थासँग तामाङ पत्रकार सङ्घ कार्यगत एकता गरी अघि बढ्नेछ ।

९. नेपाल पत्रकार महासङ्घ दोलखा, चरीघ्याङ व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष, अग्रज स्थानीय सञ्चारकर्मीहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।