नेकपा माओवादी केन्द्रको भरखरै सम्पन्न पदाधिकारी तथा स्थायी समितिको बैठकमा एक राजनीतिक प्रस्ताव पारित गरिएको छ ।
प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा निर्वाचनको समीक्षा, वैचारिक, राजनैतिक एवम् सांस्कृतिक क्षेत्रको काम, संगठनात्मक क्षेत्रको काम, जनवर्गीय संगठन (जवस) बारे लगायतका प्रस्तावहरु छन् ।
प्रस्तावमा पार्टी, सरकार , जनसंगठनको परिचालन तथा कार्यविभाजनबारे समेत प्रस्तुत गरिएको छ ।
पूर्ण पाठ पढ्नुहोस्
पार्टी स्थायी कमिटी बैठकका लागि प्रस्ताव
पार्टीको आठौँ महाधिवेशन सम्पन्न भए यता कमिटी प्रणाली व्यवस्थित भई नसक्दै स्थानीय निर्वाचन सम्पन्न भएको छ भने त्यसको ६ महिनाभित्रै संघीय संसद र प्रदेश सभाको निर्वाचन पनि सम्पन्न भएको छ । प्राविधिक कारणले निर्वाचन भएको गठबन्धनलाई सरकार निर्माणमा समेत निरन्तरता दिने प्रयास सफल हुन सकेन । फेरि पनि विभिन्न दलहरूको सहभागितामा हाम्रै पार्टीको नेतृत्वमा सरकार बनेको छ । यो उपलब्धिमुलक कुरा हो । यसभन्दा पनि अझ महत्वपूर्ण र हाम्रो लागि निकै सुखद् कुरा त के हो भने सदनमा ३२ सिट भएको हाम्रो पार्टीको नेतृत्वले प्रधानमन्त्रीलाई विश्वासको मतका क्रममा ९९.२५ प्रतिशत मत प्राप्त भई नेपालको संसदीय इतिहासकै असाधारण र आश्चर्यजनक नतिजा आयो । संसदीय इतिहासको यो असाधारण सहमति हाम्रो पार्टी शान्ति प्रक्रिया परिवर्तनका हरेक एजेण्डाका लागि न्याय र सम्मानको विषय हो । सरकारको समर्थनका दृष्टिले राष्ट्रिय सहमति देखिएको यस सुखद अवसरसँगै ठूला पार्टीहरू बिचको आपसी अन्तरद्वन्द्वले सरकार सञ्चालनका लागि गम्भीर चुनौतीहरू रहेको कुरामा हामी सजग र संवेदनशील बन्नै पर्ने छ ।
नेपाली राजनीतिमा आज पनि मुख्य चुनौती भनेको निकै ठूलो त्याग र वलिदानको जगमा संविधानसभाबाट निर्मित लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा एवम् कार्यान्वयनको कुरा हो ।
जनताका असिमित अधिकार र परिवर्तनको रक्षा गर्दै निरन्तर सुधारका प्रक्रियाबाट सामाजिक न्याय र समाजवादको आधार निर्माण गर्ने कार्य अगाडि बढाउनु नै संविधान र लोकतन्त्रको रक्षा हो । परिवर्तनको मूल संवाहक हुनुको नाताले आजको विशिष्ट परिस्थितिमा जनताको आशा र अपेक्षा पुरा गर्न हाम्रो पार्टी र सरकारले विकास, समृद्धि, सुशासनका क्षेत्रमा काम गर्नु छ । उपयुक्त परिस्थिति र आवश्यकताका बीचबाट हामी यो बैठक बस्न गइरहेका छौं ।
हामीले निर्वाचन परिणामबाट हासिल गरेको शिक्षालाई गम्भीरतापूर्वक लिई पार्टी र सरकारको कामलाई योजनावद्ध ढंगले अघि बढाउन आवश्यक छ । यस बैठकमा निर्वाचनको समीक्षाका अतिरिक्त विचार, राजनीति र संस्कृतिका क्षेत्रमा बढ्दै गएको अरुचिलाई अन्त्य गर्न, भद्दा र अस्तव्यस्त रहेको संगठनलाई व्यवस्थि तगर्न विधि, पद्धतिविहीनको हाम्रो कार्य प्रणालीलाई न्यूनतम मापदण्डभित्र ल्याई अगाडि बढ्न जनताबाट अलग-थलग हुने हाम्रो कार्यशैलीलाई फेर्ने, सरकार र पार्टीको काममा तालमेल गर्न संसदीय कामलाई प्रभावकारी बनाउने, पार्टी एकता, संयुक्त मोर्चा निर्माणका काममा ध्यान पुऱ्याने विषयहरूका साथ विज्ञान र प्रविधिको प्रयोगमा दक्षता हासिल गर्ने, उत्पादन, रोजगार र सर्मद्धि तथा सामाजिक सांस्कृतिक रूपान्तरण अभियानमा आम जनतालाई जोडी जनताको पहल कदमी कायम गर्ने विषयमा गम्भीर छलफल गरी प्रारम्भिक योजना तयार गर्नु छ ।
निर्वाचनको समीक्षा
कमरेडहरू, शान्ति प्रक्रियामा आए यता हामीले चार ओटा निर्वाचनमा प्रतिस्पर्धा गयौँ । २०६४ को निर्वाचनमा जनयुद्धको रापतापका बीचबाट हामीले ३१ लाख बढी मत र प्रत्यक्षतर्फ १२० सिट ल्याई देशकै सबैभन्दा ठूलो पार्टी भयौँ । २०७० को प्रतिस्पर्धामा हामी कमजोर सावित भयौँ र हामीले प्रत्यक्षतर्फ २६ सिट र १४ लाख ३९ हजार मत पायौँ । २०७४ मा हामीले पहिलोपटक स्थानीय निर्वाचन सामना गयौँ र नेकपा एमालेसँग संघ र प्रदेशको चुनावमा गठबन्धन गरी चुनाव लड्यौं । त्यतिबेला ३६ सिट र १३ लाख मत प्राप्त भयो । यस पटक चुनावी गठबन्धनमा कांग्रेससँग सहकार्य भयो । यतिबेला अर्थात् २०७९ मा ११ लाख ७५ हजार मतमा १८ सिटमा सिमित भयौँ । मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र हामी निल भयौँ ।
यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको छ । आठौँ महाधिवेशनमा आइपुग्दा वैचारिक रूपमा केही हदसम्म प्रगति भएपनि त्यसको कार्यान्वयनका लागि आम जनता र कार्यकर्तामा स्पष्टता र संगठनात्मक क्षेत्रमा व्यवस्थित एवम् सुदृढ गर्ने कार्यमा व्यवस्थित हुन सकेनौँ । अझ गम्भीर कुरा त के छ भने पार्टी सदस्यता बराबर समानुपातिक मत प्राप्त नभएको कुरा जिल्लामा प्राप्त भएको समानुपातिक तर्फको मतले हाम्रो संगठनको अवस्थालाई उजागर गरेको छ ।
निर्वाचनमा जुनजुन प्रदेश र जिल्लाहरूमा पार्टीमा एकरूपता र सहमतिको साथ निर्वाचन प्रक्रियामा सहभागी भयौँ त्यहाँ सकारात्मक परिणाम हाँसिल भयो । जुन प्रदेश र जिल्लाहरूमा पार्टी एकता र सहमति देखिएन त्यहाँ प्रतिस्पर्धा आम निर्वाचन जित्ने जिताउने भन्दा एक आपसमा एक अर्कोलाई हराउनेतिर उन्मुख भएको पाइयो । अर्को कुरा हाम्रो जनमत तुलनात्मक रूपले राम्रो रहेको निर्वाचन क्षेत्रहरू गठबन्धनभित्रका अरू दलहरूलाई छोड्नुपर्ने बाध्यता र जनाधार नै नभएका कतिपय क्षेत्रहरू लिने रुचिले परिणाममा थप गम्भीर असर पार्यो । अझ गम्भीर कुरा त के रह्यो भने गठबन्धन दल मुख्यतया नेपाली कांग्रेसको भोट ट्रान्सफर नहुने समस्या हाम्रो परिणामका लागि जिम्मेवार बन्न पुग्यो । यस चुनावी समीक्षाका बारेमा सबै जिल्ला र प्रदेशहरूको रिपोर्ट प्राप्त भएपश्चात पार्टी केन्द्र कार्यालयले विस्तृत समीक्षाको रिपोर्ट तयार पारे पश्चात् आवश्यक निर्णयमा पुग्नु पर्दछ। पार्टीको आन्तरिक जीवन र राजनैतिक क्षेत्रमा उत्पन्न समस्या, चुनौतीको सामना र सम्भावनाको सदुपयोग गर्ने एउटा अवसर फेरि आएको छ । हामीले पार्टीको समग्र वैचारिक-राजनैतिक-सांस्कृतिक पक्षमा थप अभिरुचिका साथ काम गर्नु छ।
संरचनागत, विधि र पद्धति, नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जन मनोविज्ञान, भू-राजनीतिक व्यवस्थालाई एवम् प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ । त्यसका लागि प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरिएको छ ।
वैचारिक, राजनैतिक एवम् सांस्कृतिक क्षेत्रको काम
-
वैचारिक, राजनैतिक एवम् सांस्कृतिक क्षत्रेका कामलाई व्यवस्थित गर्न स्थायी पार्टी स्कूल सञ्चालन गर्नुपर्छ । त्यसका लागि रुचि र क्षमता, विज्ञता समेतलाई ध्यान दिई स्कुलिङ विभागलाई पुनर्गठित गर्ने ।
-
केन्द्रीय स्कुलको स्थापना गर्ने, पाठ्यक्रम तयार गर्ने, प्रदेश र स्थानीय तहका प्रशिक्षकको लागि जनशक्ति तयार गर्ने ।
-
स्कुलिङका लागि मार्क्सवादी ज्ञानका अतिरिक्त विकसित विज्ञान – प्रविधि, वर्तमान विश्वमा उत्पन्न आर्थिक, राजनैतिक र युद्धले उत्पन्न गरेका परिस्थितिहरू, सामाजिक बदलावहरू, उत्पादन, रोजगार र समृद्धि निर्माणसँग सम्वद्ध विषयहरू व्यवस्थापन जनपरिचालन, सूचना, सञ्चार एवम् सामाजिक सञ्जालहरूको महत्वलगायतका विषय समावेश गर्ने ।
-
त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जसले सामाजिक न्याय स्थापना र समाजवादमा पुग्ने उद्देश्य राखेको छ । यसलाई आजको तत्कालिन कार्यदिशाका रूपमा बुझ्नु – बुझाउनु आवश्यक भएको छ । संविधानको रक्षा, कार्यान्वयन र निरन्तर सुधारका लागि जनमतमा आधारित प्रतिनिधित्वको तागत आवश्यक हुने कुरालाई केन्द्रमा राखी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न वर्ग र जनतासँगको सुदृढ सम्बन्ध बनाउने कार्यलाई आत्मसाथ गर्ने/गराउने ।
-
हाम्रो पार्टीको नेता कार्यकर्ताका लागि पालना गर्नुपर्ने न्यूनतम मूल्य मान्यताहरूको सूची तयार पारी पालना गर्ने र पार्टीको उद्देश्य र जनताप्रतिको उत्तरदायित्व जनजिविकासँग सम्बन्धित विषयहरू जनताले बुझ्ने भाषामा तयार गर्ने ।
-
युवाहरूलाई परिवर्तनको पथमा आकर्षित गर्ने विषयवस्तुहरू आदि कामहरूलाई व्यवस्थित गरी आम पार्टी पंक्ति र जनतासम्म पुऱ्याउने ।
-
स्कुलिङ विभागले फागुन महिनाभित्र तयारी सुरु गरी चैत महिनामा कक्षा सञ्चालन गर्ने । ३ तहको कक्षा नेतृत्वका लागि न्यूनतम योग्यता हुनुपर्ने व्यववस्था गरिनुपर्ने ।
संगठनात्मक क्षेत्रको काम
हालको संगठनात्मक अवस्था न सदस्यको स्पष्ट नाम र सङ्ख्या छ न त दाबी गरेका प्रवेश गरेका विभिन्न कमरेडहरूको पद र तहहरूको स्पष्टता छ । बैठक बस्न गाह्रो छ । विषयमा छलफल र बहस गरी निष्कर्षमा पुग्न कठिन संरचना, हैसियतलाई प्रचारका लागि उपयोग गरे पनि परिणाममा नजोडिने, जनता र वर्गसँग सम्बन्ध नराख्ने, केन्द्रमुखी प्रवृत्तिको बाहुल्यता भएको अवस्था रहेको छ । यो अवस्थाबाट न्यूनतम मूल्य मान्यतामा रहने, जनतासँग सहकार्य गर्ने, आफ्नो हैसियतलाई कार्यक्षेत्रमा परिणामबाट पुष्टि गर्ने, निर्णयमा सदस्यहरूको स्वामित्व रहेको, आन्तरिक जनवाद जिवित रहेको, श्रमसँग जोडिएको, संगठनमा बदल्ने चुनौतीलाई स्विकार गर्दै प्रारम्भिक रूपमा निम्न कार्यहरू गर्न आवश्यक छ।
१. महाधिवेशनको निर्णयअनुसार कमिटीहरूलाई पूर्णता दिने ।
२. कार्यविभाजन : सबै केन्द्रीय सदस्यहरूलाई ३ महिनाको लागि संघीय र प्रदेश निर्वाचन क्षेत्र र प्रदेश कमिटीहरूमा जिम्मेवारी तोकी पठाउने । त्यसो गर्दा संघमा १६५ र प्रदेशमा ३३० निर्वाचन क्षेत्रमा एक/एक जना जाँदा ४९५ कमरेडलाई संगठन निर्माणको कार्यमा प्रत्यक्ष्य जोड्न सकिनेछ (संसदको कामलाई ध्यान दिई कार्यविभाजन गर्ने) ।
३. कार्यक्षेत्रमा संगठन निर्माणका अलावा उत्पादन, जसम्बन्ध र स्कुलिङको कामको नेतृत्व गर्नुपर्ने । यसबाट आउने परिणामको आधारमा कार्य सम्पादन मूल्याङ्कन गरी पार्टीको जिम्मेवारी तोक्ने ।
४. संगठनलाई थप व्यवस्थित गर्न अध्ययन, अनुसन्धान र छलफल एवम् कार्यशाला गरी संगठन विभागले २ महिनाभित्र विस्तृत प्रतिवेदन तयार पार्ने ।
५. सबै तहमा पार्टीको बैठक एजेण्डा छलफल, निर्णय प्रक्रियाहरू पूर्ण जनवादी वातावरणमा अगाडि बढाउने । आफ्नो तहमा व्यवस्थापन, पार्टीको विधि पद्धति बारे निर्णय गरी कार्यान्वयन गर्ने।
जनवर्गीय संगठन (जवस) बारे
जवसको भारीभर्कम संरचना पदीय बोझ वर्षौंदेखि एकै कमिटीमा रहने बाध्यात्मक अवस्था अन्त्य गरी फ्रेस नेतृत्व विकासको तयारी गर्ने । हाललाई जवसहरूको भेला सम्मेलनहरूको मिति तय गरी अगाडि बढ्ने ।
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनका साथै सिंगो पार्टीले प्राथमिकतामा राख्ने ।
जवसलाई पार्टी नेता कार्यकर्ताको बाहुल्यताको सट्टा एक तिहाइ नबढ्ने गरी कायम राखी बाँकी सदस्यहरू सम्बन्धित पेसाका आम पंक्तिबाट भर्ती गरी प्रशिक्षित गर्दै नेतृत्व निर्माण गर्ने नीति लिने ।
जवसलाई पार्टीले वैचारिक मार्गदर्शन गर्ने, संगठन र पेसागत हित र राष्ट्रिय स्वार्थका मुद्दाहरूमा आवाज उठाउनलगायतका कार्यहरूमा स्वनिर्णय गर्न सक्ने गरी तयार पार्ने ।
जवस प्रमुखहरूको संयोजन समिति बनाई पार्टीले नीति, योजना बारे जानकारी गराउनेका साथै जवसबाट आआफ्ना विशेषतामा सिर्जनशीलता र आम विषयमा एक रूपताको कार्यक्रम बनाई कार्यान्वयन गर्ने ।
जवसहरूले आआफ्नो जनजिविकाका सवालमा आवाज उठाउने र सरकारको ध्याकर्षण गराउने ।
मोर्चा संगठन
आफ्नो भाषा, भेषभुषा, संस्कृति, पहिचान, उत्पीडनलगायतका विषयमा जनताका बिचमा लैजाने नीति र कार्यक्रम हुनुपर्ने । हाल सबै जातीय मोर्चाहरू बनेका भएपनि समुदायमा फैलिएका छैनन् । मोर्चाहरूले उपर्युक्त नाराका अलावा संविधानमा भएका उपलब्धी र अधिकारको स्वामित्व लिँदै समुदायको बहुमत सङ्ख्यालाई गोलबद्ध गर्ने।
विभाग
केन्द्रीय विभागहरूलाई विज्ञ सदस्यहरूको बाहुल्यतासहित आफ्नो विषयको अध्ययन अनुसन्धानको रूपमा विकसित गर्ने । सो अनुरूप प्रतिवेदनहरू तयार पार्ने ।
आफ्नो विषयमा पार्टीलाई चाहिने समग्र सुझाव, डाटा र तथ्यहरू दुरुस्त रूपमा तयार पारी जुनसुकै बेला उपलब्ध गराउन सक्ने गरी तयार पार्ने ।
हरेक महिना त्यसलाई अपडेट गर्ने ।
प्रदेशमा आवश्यकताअनुसार विभाग गठन गर्ने । स्थानीय तहमा स्कुलिङ, संगठन, उत्पादन रोजगार, विकास निर्माण, अनुगमन मूल्याङ्कन र समाज कल्याण विभागहरू बनाई कार्य सम्पादन
गर्ने ।
जनसम्बन्ध
(१) सामाजिक सत्ता र सामाजिक संरचना सरकारभन्दा पनि महत्वपूर्ण संरचनाहरू हुन् । यी संरचनाहरू जनताको जीवनशैली, रहनसहन, भेषभुषा, संस्कृति र उनका दैनिक आवश्यकतासँग जोडिएका हुन्छन् । यी महत्वपूर्ण संस्थामा हाम्रो ध्यान नपुग्दा जनताबाट हामी अलग-थलग हुन पुग्दैछौँ । यी संस्थाहरूमा पार्टी नेता बनेर होइन सामाजिक अभियन्ता बनेर सहभागी हुनुपर्छ । जनताका दैनिक जीवनमा आइपर्ने समस्याहरू सुख, दुःख र आपत विपतमा जनताको साथमा हुने तत्परताका लागि स्थानीय संगठनलाई आवश्यक प्रशिक्षित गर्ने ।
स्थानीय जनताको उपस्थिति र अवस्थिति अनुसार उनीहरूसँग एकाकार भइ उत्पादन, रोजगारमा सहभागिताका साथै जनजिविकाका सवालमा आवाज उठाउने ।
सरकार र पार्टीको तालमेल बारे
-
सरकारले गरेका राम्रा र महत्वपूर्ण कामलाई जनतामा स्थापति गर्न नसक्ने हाम्रो विगतबाट पाठ सिक्दै सरकारले गरेका महत्वपूर्ण कामलाई आम जनताको बिचमा पुऱ्याउन संगठन, संरचना संयन्त्र सञ्जालको प्रयोग हरेक तहले गर्ने ।
-
संघीय सरकारका कामकाजमा मद्दत पुऱ्याउन पार्टीका तर्फबाट सल्लाह सुझावहरू दिन तत्काल गर्नुपर्ने राहत, उद्दार लगायत काममा ध्यानाकर्षण गराउन, सरकार बारे जनमानसमा उठ्ने प्रश्नहरू बारे समेत जानकारी गराउन प्रधानमन्त्री कार्यालयले एक सुझाव डेस्क स्थापना गर्ने, प्राप्त रिपोर्ट र सुझावहरूको विश्लेषण गर्ने टिम बनाई आवश्यकता अनुसार गुनासा सम्बोधन गर्ने ।
-
संघीयता कार्यान्वयनसँग सम्बन्धित कामहरू, कानुन निर्माण संरचना हस्तान्तरण, बजेट विनियोजन लगायत कामहरूको प्राथमिकीकरण गरी अघि बढाउने ।
-
सहिद घोषणालाई राजपत्रमा प्रकाशन गर्ने, बजेटमा व्यवस्था भएपनि सहिद परिवार, माइनर र यौनहिंसामा परेका महिलालाई राहत दिन कार्यविधिको अभावमा उपलब्ध हुन नसकेकोले त्यसको समाधान गर्ने ।
-
घाइते याद्धाहरूको मूल्याङ्कन हुन बाँकी काम सम्पन्न गर्ने।
संसदीय कामलाई प्रभावकारी बनाउने बारे
संसद जनसरकारका विषयहरू उठाउने संविधान र कानुनमा उल्लेखित अधिकारहरू प्रयोग गर्न आवाज उठाउने कानुन निर्माण गर्ने थलो मात्र नभई परिवर्तनको पथमा जनतालाई सु- सुचित र प्रशिक्षित गर्ने संघर्षको थलो भएकाले हामीले त्यस तर्फ ध्यान पुऱ्याउन जरुरी छ । वर्तमान संसद विगतको भन्दा भिन्न प्रकारको रहेको छ । तसर्थ पार्टीले आवश्यक ततयारीका साथ संसदको काम कारबाहीलाई प्रभावकारी बनाउन निम्न कामहरूलाई प्राथमिकतामा राख्न जरुरी छ ।
-
तीनै तहमा संसदीय बोर्ड गठन गर्ने र संसदको काम कारबाही प्रभावकारी योजना तयार पार्ने ।
-
संसद सचिवालयमा विज्ञ टिमहरू नियुक्त गर्ने, कानुन निर्माण लगायत विषयमा आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने ।
-
जनप्रतिनिधिहरूले दिने मन्तव्य अध्ययन अनुसन्धानका आधारमा लिखित रूपमै तयार गर्नुपर्ने ।
-
विज्ञ टिमको परामर्शमा लिखित मन्तव्य तयार पार्ने ।
-
संसद बाहेकको समय अध्ययन, अनुसन्धानमा खर्च गर्ने बानीको विकास गर्ने । प्रमुख सचेतकले यी सबै कामको अनुगमन गर्ने ।
प्रदेश सरकार
प्रदेश सरकारका कामलाई व्यवस्थित गर्न सरकारको नेतृत्व गर्ने प्रमुख व्यक्ति र सदस्यहरूको संयुक्त बैठक गर्ने । राम्रा कामहरूको विस्तार गर्ने ।
एक अर्कामा सहकार्यको वातावरण बनाउने, पार्टीको तर्फबाट खास विषयमा एकरूपता हुने गरी योजनाको सुझाव दिने ।
प्रदेश पार्टीले सरकार सञ्चालन संयन्त्र बनाई आपसी सल्लाहका आधारमा काम गर्ने पद्धतिको विकास गर्ने ।
स्थानीय सरकार
स्थानीय सरकारका प्रमुखलाई हरेक ६ महिनाको एक पटक भेला गरी आपसी अन्तरक्रिया, अनुभव आदान-प्रदान, प्रभावकारी सरकार सञ्चालनको लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने ।
स्थानीय सरकारलाई विकासको नमुनाका रूपमा अगाडि बढाउने।
जिल्ला पार्टीले स्थानीय सरकार सञ्चालन सम्बन्धमा निर्देशक कमिटी निर्माण गरी आपसी परामर्श र सल्लाह सुझावका आधारमा काम गर्ने पद्धति विकास गर्ने ।
पार्टी एकता र संयुक्त मोर्चा
विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बिचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने । एकता गर्दा पार्टीमा काम गरिरहेका सक्रिय र इमान्दार नेता-कार्यकर्तालाई डोमिनेसन नहुने गरी प्रक्रिया अगाडि बढाउने ।
तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।
विज्ञान प्रविधिको प्रयोग
पार्टी केन्द्रीय कार्यालय लगायत सबै तहका कार्यालयमा विज्ञान-प्रविधिको भरपुर प्रयोग गरी डिजिटल व्यवस्थापनका लागि क्षमता अभिवृद्धि गर्ने ।
आम नेता कार्यकर्ताले सूचना प्रविधिको प्रयोग गर्न क्षमता वृद्धि गर्ने ।
उत्पादन, रोजगार, समृद्धि र सामाजिक सांस्कृतिक रूपान्तरण सर्वप्रथम पार्टीमा संगठित हरेक सदस्यलाई उत्पादन र रोजगारमा जोडी स्वरोजगार र आत्मनिर्भर बनाउन केन्द्रले नीति योजना र तालिम प्रदेशले विभिन्न संस्थाहरूको निर्माण गरी उत्पादनमा लगाउने र स्थानीय तहले आम जनताका उत्पादन समूहहरू, श्रम सहकारी, सहकारीहरू, कम्पनीहरू आम कार्यकर्तालाई सहभागी गराउनुका साथै जनतासँग एकाकार भई उत्पादन, रोजगार र समृद्धिको अभियानमा लाग्ने ।
सामाजिक सांस्कृतिक रूपान्तरण अभियान
सामाजिक विभेद, असमानता, महिला हिंसा, गरिब उत्पीडितप्रति अपहेलनाका विरुद्धका अलावा पारदर्शिता, सुशासन, नेतृत्वलाई खबरदारी, भाषा, संस्कृति, भेषभुषा, पहिचान, समावेशिता, सामाजिक एकता, सद्भावलगायत विषयमा जनताका बिचमा व्यापक बहस र छलफल गर्न स्थानीय पार्टीले योजना बनाई कार्यान्वयन गर्ने । यसबाट पार्टी नेतृत्वको रूपान्तरणको अवसरका रूपमा यसलाई अगाडि बढाउने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















