-
देवकुमार माेक्तान
आज फागुन १, १० वर्षे जनयुध्दकाे स्मृति दिवस :
कति मान्छेलाई याे सशस्त्र युध्दकाे उच्चारण सम्म पनि असह्य हाेला, तर याे यथार्थ हाे । वास्तवमा २०५२, फागुन १ गते सुरु भएकाे १० वर्षे जनयुद्व परिवर्तनकारी एवं मुक्तिकामी जनताकाे लागि एक विशेष दिनकाे रुपमा ईतिहासमा दर्ज भएर रहेकाे छ ।
हजाराैं वर्षकाे सामन्ती शाेषणमूलक सामाजिक, राजनीतिक र साँस्कृतिक समाज व्यवस्थाकाे जगमा उभिएकाे अर्धसामन्त, अर्धउपनिवेशवादी, नाेकरशाही, दलाल पूँजीवादी शाेषणमा आधारित खाेक्राे संसदीय व्यवस्थाकाे जरा उखाली समानतामा आधारित नयाँ जनवादी व्यवस्थाकाे स्थापना गर्ने महान उद्देश्यबाट अभिप्रेरित भएर यस युध्दमा हजाराैं नेपाली आमाका छाेरछाेरीहरु हाेमिएका थिए र हजाराैंकाे संख्या सहिद भए ।
यही जनयुध्दकाे राप र तापले गलेकाे दलाल व्यवस्था र राजा ज्ञानेन्द्रकाे हुकुमी शासन पनि युध्दकारी माओवादी पार्टीका सशस्त्र जनसेना, लडाकु र नेता कार्यकर्ताकाे व्यापक सहभागिताकाे बलमा ६२/६३ काे १९ दिने जनआन्दाेलनबाट बढारियाे । यसरी हालकाे राजनैतिक परिवर्तनमा उक्त जनयुध्दकाे मुख्य याेगदान रहेकाे छ ।
तर ६२/६३ काे परिवर्तन पनि अन्तत: शाेषित, पीडित र उत्पीडनमा परेका नेपाली जनताकाे पक्षमा हुन सकेन । २ पटककाे चुनावबाट जन्मेकाे संविधान सभाले करिव परिवर्तनकाे १० वर्ष काे अन्तरालमा बनेकाे २०७२ काे नेपालकाे संविधानले लाेकतान्त्रिक, गणतन्त्रात्मक, समावेशी, समानुपातिक, समाजवाद उन्मुख र धर्मनिरपेक्ष नेपाल भनेर घाेषणा गरेपनि याे संविधानले पुरानै संविधानकाे सामाग्रीहरुलाई अंगीकार गर्याे र उहीँ थाेत्राे भ्रष्ट संसदीय पूँजीवादी व्यवस्थालाई शासन प्रणालीकाे रुपमा कायम गर्याे । नयाँ बाेतलमा पुरानाे रक्सी ।
नेपालमा गणतन्त्र त ल्याइयाे तर त्यसकाे नाइकेलाई कुनै अर्काे नागर्जुन दरबारमा सजाएर राखियाे । यस्ताे भान हुन्छ, फेरि राजतन्त्र ल्याउन परेकाे खण्डमा सजिलै ल्याउन सकियाेस् । संविधानमै संघीयताकाे कुरुप संरचना तयार गरियाे । लाग्छ, हाम्राे संविधान खासमा संविधान हाेइन, याे त पदै पदकाे साेपानले भरिएकाे पद पुस्तक हाे । यसमा देश बनाउने भन्दा पनि देशलाई केही थान अभिजात वर्ग र तिनका आसेपासेहरु मिलेर, बाँडेर खाने विधिहरु वर्णित छन् । संविधानकाे २ पटककाे कार्यान्वयनले याे संविधान दुई चार वटा परंपरावादी दलहरुकाे कार्यकर्ता, नातागाेता, नजिकका सम्बन्धीहरुकाे व्यवस्थापन गर्ने दस्तावेजकाे रुपमा परिणत गराएकाे छ ।
याे संविधानकाे प्रयाेगबाट देशमा कुनै खालकाे सकारात्मक परिवर्तन हुने संकेत देखिएकाे छैन । जनताकाे कुनै सखानुभूति गर्न पाउने छनक छैन । झनझन मुलुक विषम परिस्थितिहरुले घेर्दै गएकाे छ । राजनीतिमा इमान, नैतिकता र आदर्श छैन । जताततै भ्रष्टिकरण छ, विचलन छ । राज्यका सबै अङ्गहरु हिजाेका दिनमा भन्दा भ्रष्ट र नालायक छन् । भ्रष्टाचार समाजकाे नशा नशामा बगेकाे छ । साेझा र इमान्दारले समाजमा टिक्न गाह्राे छ । पद र पैसाका लागि जुनसुकै माध्यम जायज भएकाे छ । जनता सिध्दान्तनिष्ट र इमान्दारकाे हाेइन, ठुला कुरा गर्ने सुकिला मुकिलाहरुकाे पछि लागेका छन् । राजनीतिक, सामाजिक र साँस्कृतिक विचलनले देश थिलथिलाे भएकाे छ । हिजाेकाे शाेषण र उत्पीडनकाे सिलसिला कायमै छन् । केही आवरण र आयामहरु मात्रै फेरिएका हुन् ।
आर्थिक रुपमा करिव करिव टाट पल्टिएकाे अवस्था छ । अर्थतन्त्र डामाडाेल छ । राेजगार छैन । उद्याेग धन्धा छैन । निर्यात छैन । अन्नपात समेत आयातमा निर्भर छ । साठी लाख भन्दा बढी युवा जनशक्ति विदेशिएका छन् । अर्थतन्त्र रेमिट्यान्सले मात्र धानेकाे छ । ८०% सामान्य खर्चकाे बजेट आउँछ । ऋणकाे भार थपिँदै छन् । देशकाे भूभाग अतिक्रमित नै छन् । राष्ट्रियता धरापमै छ । विकासकाे स्तर र चिन्तन प्रणाली राजा महेन्द्रकाे तुलनामा पनि छैन ।
विडम्बना, आज मुलुककाे नेतृत्व यही १० वर्षे जनयुध्दका सर्वाेच्च नेता प्रचण्डले गरिरहेका छन् । तर उनी यतिखेर जनयुध्द गर्ने तत्कालीन सिङ्गाे माओवादी पार्टीकाे प्रतिनिधि हाेइनन् । क्रान्तिकारी कम्युनिष्ट आन्दाेलन प्रति उनले गरेका गद्दारी र उनकाे पूँजीवादी रुझानले गर्दा माओवादी पार्टी आजकाे दिन आधा दर्जनकाे संख्यामा विभक्त हुन पुगेका छन् । जनयुध्दका घाइते आपाङ्गहरुकाे विजाेग छन्, बेपत्ताहरुकाे अत्ताेपत्ताे छैन र सहिद परिवारकाे सम्मान छैन ।
प्रचण्ड अब पूँजीवादीहरुकाे हातकाे खेलाैनाकाे रुपमा परिणत भइसकेका छन् । यतिखेर त उनलाई पिंजडाकाे सुगा जस्ताे प्रधानमन्त्रीकाे रुपमा चित्रण र विश्लेषण गरिन थालिएकाे छ । वास्तवमा याे सही पनि हाे । उनी पूँजीवादी खाेरमा यसरी जगडिएका छन् जसबाट उम्कन उनलाई असम्भव छ । उनले नाम मात्रकाे कम्युनिष्ट पार्टी बाेकिरहेका छन् । सिध्दान्तसँग हाेइन, नामसँग मात्र माेह देखिन्छ । पूँजीवादी त भइयाे, तर नाम कम्युनिष्ट छ । यसैले त उनकाे शक्ति पनि कमजाेर हुँदै गएकाे छ । याे व्यवस्थामा पूर्ण रुपमा पूँजीवादी पार्टीकाे रुपमा रुपान्तरण गर्दा पनि प्रचण्डक्काे पार्टीलाई भविष्यमा सत्तामा टिक्न गाह्राे मात्र हाेइन असम्भव समेत देखिन्छ र कुनै अन्य पूँजीवादी पार्टीमा विलय बाहेक अरु विकल्प देखिँदैन ।
यसर्थ, जनयुध्द दिवसकाे महत्व जनवादी व्यवस्थाका पक्षपातीहरुका लागि एक महान दिनकाे रुपमा रहेकाे छ र सबै मुक्तिकामी र परिवर्तनका पक्षपाती मित्रहरुमा यस दिनलाई स्मरण मात्र नगरी गरिखाने जनताकाे मुक्तिका लागि याे दिनले देखाएकाे बाटाेमा लामबध्द हुने चिन्तन र शक्ति प्राप्त हाेस् भन्ने कामना सहित जनयुध्दका क्रममा ज्यान आहुत्ति दिने सबै महान सहिदहरु प्रति सम्मान र जुझारु सम्झना !!!
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















