धुलिखेल- नेपाली रुपैयाँलाई अमेरिकी डलरसँग साटिदिएर बढी फाइदा गराइदिने प्रलोभन पारी लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–०३ का २६ वर्षीय सुनिल डुम्जन रहेका छन्।

प्रहरीका अनुसार डुम्जनसहितको संगठित गिरोहले काभ्रेका विभिन्न स्थानमा अमेरिकी डलरको ५० को नोट देखाएर सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्दै आएको थियो। उनीहरूले ५० डलरको सक्कली नोट देखाई रुमालको पोकोभित्र ठूलो मात्रामा डलर रहेको भन्दै प्रलोभनमा पार्ने र लाखौँ नेपाली रुपैयाँ लिएर पोको थमाइ भाग्ने शैली अपनाउने गरेका थिए।

यसरी ठगी गर्ने क्रममा गत २०८२ साल भदौ २४ गते बनेपा नगरपालिका–०३ नगरकोटको जंगलमा एक व्यक्तिलाई ५ हजार अमेरिकी डलर दिने भन्दै रुमालको पोको दिएर ५ लाख रुपैयाँ ठगी गरिएको थियो। त्यसैगरी, २०८३ साल असार ५ गते बनेपा–०३ शसिपानीस्थित जंगलमा ५५ हजार अमेरिकी डलर दिने प्रलोभन देखाएर २३ लाख रुपैयाँ र असार ६ गते बनेपा–०१ रानीकोटस्थित जंगलमा २० हजार डलर दिने भन्दै २० लाख रुपैयाँ ठगी गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा यस घटनामा संलग्न ४ जनाको पहिचान भइसकेको छ। पक्राउ परेका डुम्जनसहित अन्य सदस्यहरूले विभिन्न फोन नम्बरहरू (९७४३९८१५६०, ९७४७७०६०४४, ९८५२०२३७५३, र ९७४७४५०२९१) प्रयोग गरी मानिसहरूलाई सम्पर्क गर्ने र विभिन्न लोभलालच देखाई ठगीको जालमा पार्ने गरेको खुलेको छ।

प्रहरीले अभियुक्त डुम्जनको साथबाट वारदातका बखत प्रयोग गरिएका सेतो चप्पल, निलो ट्रयाक, कालो हाफ पाइन्ट, पेपर काट्ने ब्लेड २ थान, काटिएको अवस्थाको कापी १ बुक, बा.प्र.०२-०६३ प. ८१९० नम्बरको टीभीएस स्कुटर, २ थान कि-प्याड र १ थान स्क्रिन टच मोबाइल, ३ थान सिमकार्ड तथा नगद २३ हजार ६० रुपैयाँ बरामद गरेको छ।

गिरोहले सामूहिक रूपमा आर्थिक लाभका लागि योजनाबद्ध र संगठित रूपमा ठगी धन्दा चलाउँदै आएको पाइएकाले उनीहरूविरुद्ध “ठगी तथा संगठित अपराध” मुद्दामा काभ्रे जिल्ला अदालतबाट म्याद थप गरी गहन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिएका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।