काठमाडौं । खुला विश्वविद्यालय निश्चित दिन हाजिरी गरेर पढ्न नसक्ने, नभ्याउने मान्छेलाई पनि शिक्षाको पहुँचमा ल्याउनु हो । सन् १९६९ मा बेलायतमा संसारकै पहिलो खुला विश्वविद्यालय सुरु भएको थियो । विश्वविद्यालय स्थापनाको समय बेलायतमा नारा नै थियो– कुनै पनि समय, कहीँ पनि, जसलाई पनि शिक्षा । संसारमा स्थापना भएको आधा शताब्दीपछि मात्र यही मर्म बोकेर नेपालमा खुला विश्वविद्यालय स्थापना भएको हो ।
‘हामीले परम्परागत विश्वविद्यालयबाट घोकेर सम्झिएको ज्ञानले चल्ने मान्छेहरू जन्मायौँ, अबको दुनियाँमा यस्तो ज्ञान काम लाग्दैन,’ लगभग डेढ घन्टाको कुराकानीको अन्तिममा खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले ज्ञानप्रतिको आफ्नो धारणा सुनाए । अबको विश्वविद्यालयले उत्पादन गर्ने मान्छे कस्तो हुनुपर्छ भनेर उनले थप व्याख्या गरे, ‘यो समयका समस्या समाधान गर्न भएको सूचना लिने, चाहिने सूचना खोज्ने र समस्या समाधान गर्न चिन्तन गर्न सक्ने आलोचनात्मक चेत भएको मान्छे विश्वविद्यालयले उत्पादन गर्नुपर्छ । त्यसका लागि हामीले शिक्षालाई जसरी लियौँ त्यसको न्यारेटिभ बदल्नुपर्छ र नयाँ ढंगले उच्च शिक्षाको संरचना तयार गर्नुपर्छ ।’
खुला विश्वविद्यालयमा पठनपाठन सुरु भएको अढाइ महिना मात्रै भयो । ‘फ्याकल्टी अफ म्यानेजमेन्ट एन्ड ल’, ‘सोसल साइन्स एन्ड एजुकेसन’ र ‘फ्याकल्टी अफ साइन्स, हेल्थ एन्ड टेक्नोलोजी’ गरी तीनवटा संकायमा स्नातकदेखि पिएचडीसम्म ४०६ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
इन्टरनेटमा आधारित पठनपाठन
खुला विश्वविद्यालयको सम्पूर्ण पठनपाठन ई–लर्निङमार्फत हुन्छ । भर्नापछि विद्यार्थीलाई प्राविधिक विषयमा ‘ओरियन्टेसन’ गरिन्छ । ओरियन्टेसनपछि विद्यार्थीलाई युजरनेम र पासवर्ड उपलब्ध गराइन्छ । त्यसपछि विद्यार्थी भर्चुअल क्लासमा जान पाउँछन् । विश्वविद्यालयले ‘स्काइप फर बिजनेस’ प्रोगाम चलाउँछ, विद्यार्थी त्यसैमा दैनिक रूपमा उपस्थित हुन्छन् । विद्यार्थी जुन ठाउँमा छ त्यहीँ अनलाइन बस्छन्,, शिक्षकले आफ्नो अनुकूल पर्ने ठाउँमा बसेर इन्टरनेटमार्फत पढाउँछन् ।
कक्षामा बस्न नपाएका विद्यार्थीका लागि कोर्सको ‘रेकर्डेड फम्र्याट’ उपलब्ध गराइन्छ । ‘विद्यार्थीहरू छिटो सिक्ने, मध्यम रूपले सिक्ने र ढिला सिक्ने हुन्छन्, कसैले छिट्टै बुझ्छ, कतिलाई बुझ्न समय लाग्छ, नबुझ्ने विद्यार्थीले पठन सामग्री जतिपल्ट चाह्यो, त्यतिपल्ट सुन्ने व्यवस्था भएकाले यसले पठनलाई अझ सहज बनाउँछ,’ शर्मा भन्छन् ।
विद्यार्थीको होमवर्क, असाइन र क्लास अनलाइनबाटै हुन्छ । विद्यार्थीले नेटमा आफूलाई आवश्यक पर्ने कोर्स मात्र देख्छन् । विद्यार्थी कति बजे अनलाइन आए ? होमवर्क बुझाए कि बुझाएनन् ? कति बजेदेखि कति बजेसम्म कक्षामा बसे ? शिक्षक कति बजे अनलाइन आए ? यी सबै जानकारी विश्वविद्यालयले नेटबाटै प्राप्त गर्छ । विद्यार्थीले उपस्थित हुनुपर्ने समय र कक्षाका बारेमा नेटबाटै उनीहरूलाई ‘अलर्ट’ गराइन्छ । नेटबाट प्राप्त जानकारीकै आधारमा कक्षामा आउन ढिला गर्ने, लामो समयदेखि कक्षामा नभएका विद्यार्थीलाई विश्वविद्यालयले फोन सम्पर्क गर्छ । विद्यार्थी कक्षामा आउन नसक्नुको कारण बुझ्छ ।
‘प्रत्येक विद्यार्थीको गोपनीयता कायम गरिन्छ, उसको उपस्थिति, होमवर्क, असाइनमेन्टलाई विश्वविद्यालयका सीमित सम्बन्धित व्यक्तिबाहेक अरूले देख्न पाउँदैनन्,’ विश्वविद्यालयका ई–लर्निङ तथा सूचना प्रविधिविज्ञ पदमराज पन्त भन्छन् ।
विद्यार्थीले अनलाइनमै प्रश्न सोध्छन्, शिक्षकले अनलाइनबाटै जवाफ फर्काउँछन् । विद्यार्थीलाई उसको विषयको अडियो, भिडियो, पिडिएफ फाइल, टेक्स्ट, नोट र जर्नल अनलाइनमै राखिदिएको हुन्छ । त्यहीँबाट आवश्यक सामग्री डाउनलोड गरेर विद्यार्थीले पढ्न सक्छन् ।
एक–डेढ महिनामा कन्ट्याक्ट सेसन चल्छ । शिक्षकहरू नै धेरै विद्यार्थी भएको ठाउँमा पुगेर कन्ट्याक्ट सेसन चलाउँछन् । काठमाडौँ र पोखरामा कन्ट्याक्ट सेसन भइसक्यो, यही महिना इटहरीमा चलाउने विश्वविद्यालयको तयारी छ । त्यसपछि काठमाडौँ र फेरि पोखरामा कन्ट्याक्ट सेसन चल्नेछ ।
‘हामीले विद्यार्थीलाई अरू विश्वविद्यालयले नपढाएका कोर्सहरू पनि पढाइरहेका छौँ, प्रविधिमा आधारित भएर पढाउँछौँ, संसारभर नै प्रतिष्ठित विश्वविद्यालयले विद्यार्थीलाई प्रविधिको सहायतामा पढाउने क्रम बढिरहेको छ,’ शर्मा भन्छन्, ‘हामी परम्परागत विश्वविद्यालयको दायरामा बस्दैनौँ, विभिन्न पेसा र व्यवसायसँग जोडिएका कोर्स बनाउँछौँ र पढाउँछौँ, अहिले हामी त्यसैको तयारीमा छौँ ।’ नयाँपत्रिकाबाट






















