मोहन तामाङ
संखुवासभा । लगातारको वर्षापछि संखुवासभाको सिलिचोङ गाउँपालिका ३ ताम्कुको याचम्खा र साप्तेल टोलमा पहिरो जान थालेपछि स्थानीयहरु उच्च जोखिममा परेका छन् ।
वर्षाको कारण ठाउँ ठाउँमा पहिरो जाने र जमिन फाट्न थालेपछि पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोको कारण जमिन चर्किएसँगै घर पनि चर्किन थालेको छ । ३२ परिवार रहेको याचम्खामा पहिरोको कारण १३ परिवार उच्च जोखिममा रहेका छन् भने अन्य सामान्य रहेका छन् । त्यस्तै १७ घरपरिवार रहेको साप्तेल गाउँमा पनि पहिरो जान थालेपछि बस्ती उच्च जोखिममा परेको हो ।
पहिरोको कारण घर समेत चर्किन थालेपछि वडा सदस्य मणीकुमार कुलुङले प्रहरी टोली लिएर अनुगमनमा गएका छन् । स्थलगत अध्ययन अनुगमन गरेपछि स्थानीय विपद व्यवस्थापन समिति, जिल्ला विपद व्यवस्थापन समिति र रेडक्रसमा प्रतिवेदन पेश गरिने वडा सदस्य कुलुङले जानकारी दिए ।
अव केही दिन अझै पानी परे जन धनको क्षति समेत हुने गरी पहिरो जान सक्ने भएकोले बेलैमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने देखिएको कुलुङको भनाई छ ।
























