काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दशैँको टिकट खुलाउने निर्णयसँगै १० प्रतिशत भाडा बढाउने सहमति भएको छ । सार्वजनिक यातायातमा आजैदेखि लागू हुने गरी भाडा वृद्धि भएको हो । यो खबर नयाँपत्रिकामा छ ।
गत ३१ भाद्रमा यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ताका प्रतिनिधि, सुरक्षा निकाय समेतका प्रतिनिधि सम्मीलीत बैठकमा महासंघले ५ असोज देखि दशैंका लागि अग्रीम बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो । तर बुकिङ खुल्ला गर्नु भन्दा अगाडि नै आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकाले सरकारले मुल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै बुकिङ रोकेको थियो ।
आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव मधुसुदन अधिकारीको उपस्थितिमा भएको बैठकमा १० प्रतिशत भाडा बढाउने भएसँगै महासंघले टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
तत्कालीन यातायात व्यवसायी संघ समितिहरुको रोक्का रहेका बैंक खाताबाट समितिको अनिवार्य दायित्व भित्र पर्ने खर्चहरुका भुक्तानी छिटो गर्ने व्यवस्था मिलाउनका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।
























