शय्या अभाव भएपछि भरतपुर अस्पतालमा सुत्केरीलाई भुइँमै राखेर उपचार

भरतपुर अस्पतालको प्रसूति वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुलाई भुइँमै राखेर उपचार गर्ने गरिएको छ । अस्पतालमा प्रसूति हुनेको संख्या बढे पनि आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा नवजात शिशु र सुत्केरी महिलाको उपचारमा समस्या हुँदै आएको छ । यो खबर नयाँ पाित्रकामा छ ।

अस्पतालको प्रसूति वार्डमा ५० शय्या मात्र छन् । शय्या अभाव हुँदा सुत्केरी र नवजात शिशुलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुनीलमणि पोखरेलले बताए । शय्या अभाव हुँदा प्रसूति वार्डको भुइँमा पनि खचाखच सुत्केरी राख्ने गरिएको छ । शय्या अभाव हुँदा नवजात शिशुलाई पनि जन्मनेबित्तिकै भुइँमै सुताउने गरिएको छ ।

सुत्केरी र नवजात शिशुलाई भुइँमा राख्दा संक्रमणको खतरा हुने स्वयं स्वास्थ्यकर्मी नै बताउँछन् । ‘शिशु जन्मिएपछि शय्या अभावमा भुइँमै राखेर उपचार गराउन बाध्य भएका छौँ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रविन खड्काले भने, शय्या थोरै छ, सुत्केरी सेवा लिन आउने धेरै छन् । शय्या व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’

भरतपुर अस्पतालमा दैनिक सयौँ महिलाले प्रसूति सेवा लिँदै आएका छन् । चितवन जिल्लाका ९० प्रतिशत महिला सुत्केरी हुन भरतपुर अस्पताल पुग्ने गरेका छन् ।

एक वर्षमा साढे १३ हजार प्रसूति

भरतपुर अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५ सय २५ महिलाले प्रसूति सेवा लिएका छन् । आव ०७३/०७४ मा भरतपुर अस्पतालमा १२ हजार ९ सय ८० महिलाले प्रसूति सेवा लिएका थिए ।

यहाँ बर्सेनि प्रसूति सेवा लिने महिलाको संख्या बढ्दै गएको छ । गत आवमा पाँचजना महिलाले प्रसूतिका क्रममा ज्यान गुमाएका थिए । गत आवमा भरतपुर अस्पतालमा एक सय ६८ जना नवजात शिशुको ज्यान गएको अस्पतालको तथ्यांकमा देखिन्छ ।

भरतपुर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुनीलमणि पोखरेलले प्रसूति सेवा लिने महिलाको संख्या बढ्दै गएको बताए । ‘अस्पतालको सेवा विश्वसनीय र गुणस्तरीय भएकाले अन्य जिल्लाबाट पनि दैनिक सयौँ महिला प्रसूतिका लागि यहाँ आउने गरेका छन्,’ पोखरेलले भने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।