
सन्तवीर लामा
धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ स्कुल डाँडामा निर्माणधिन अवस्थामा रहेको ह्रिन्छेन छ्योलिङ्ग गुम्बाले हिउँदको समयमा पानी उपयोग गर्न सहजता मिलोस भन्ने उदेश्यले आफ्नै लगानीमा २५ हजार लिटर क्षमताको आकासे प्लाष्टिक पोखरी निर्माण गरेको छ ।
धनकुटा नगरपालिकाले वातवरण विभागको सहयोगमा जनसहभागिता र अनुदानमा प्लाष्टिक पोखरी निर्माण गरिरहँदा ह्रिन्छेन छ्योलिङ्ग गुम्वाले भने आफ्नै लगानीमा प्लाष्टिक पोखरी निर्माण गरेको छ । गुम्वा निर्माणको क्रममा पानीको अत्यान्त्यै दुःख भएपछि आफ्नै लगानीमा २५ हजार लिटर क्षमताको आकासे प्लाष्टिक पोखरी निर्माण गरिएको गुम्वा निर्माण समितिका अध्यक्ष इमानसिंह वाईवा तामाङले ब्लाष्टलाई वताएका छन् । तामाङले गुम्वामा निर्माण कार्य गर्दा पानी वढी भन्दा वढी चाहिने भएपछि वर्षायामको पानी संकलन गरेर राख्नको लागी प्लाष्टिक पोखरी निर्माण गरिएको वताए । उनले पोखरी निर्माणको क्रममा खाल्डो खन्दा ६ हजार, प्लाष्टिक किन्दा ६ हजार, अन्य आवश्याक सामाग्री खरिद गर्दा र जनश्रमदान सहित ६ हजार गरी जम्मा १८ हजार खर्च भएको वताएका छन् ।
पानी ट्याङ्गकी निर्माणसंगै गुम्वा परिशर र आशपासको खाली जग्गामा लगाइएको विभिन्न प्रजातीको फूल, धुपीसल्ला, लोठ्सल्ला, उतिसका विरुवामा हिउँदको समयमा सिचाँई गर्न सहज हुने अध्यक्ष तामाङले वताए । साथै उनले वर्षा नियमित हुँदा पानी प्रशष्तै मात्रामा हुने भएकाले अर्को ५ देखी १० हजार लिटरको खाल्डे ट्याङ्गकी पनि पुनः निर्माण गरिएको वताए । तामाङले नगरपालिकाको अभियानलाई समुदायको तर्फवाट साथ दिने प्रयासको थालनी गरेको वताए । ट्याङ्गकीमा वर्षाको पानी संकलन गरिएसंगै एकातिर जमिन चिसो भै रहने हुन्छ भने अर्को तर्फ पानी किन्न् लगानी गरि रहनु नपर्ने हुँदा उपभोक्तालाई दोहोरो फाईदा हुने धनकुटा नगरपालिकाका वातवरण शाखाका प्रमुख उपेन्द्र खनालको अनुभव छ ।
खनालले वातवरणीय हिसावले प्लाष्टिक पोखरी भन्दा पनि खाल्डे पोखरी राम्रो हुने वताए । पोखरीमा जम्मा भएको पानी सिंचित हुँदा त्यो क्षेत्रको वोट विरुवालाई वचाई राख्न सहयोग पुग्ने भएकाले खाल्डे पोखरी वढी वातवरणिय हिसावले उपयोगी हुने खनालले वताए । उनले खाल्डे पोखरी निर्माण गर्दा खर्च पनि धेरै नलाग्ने र वातवरणिय हिसावले पनि वढी उपयोगी हुने भएकाले नगर क्षेत्रमा वर्षाको पानी संकलन गर्न नगरपालिकाले खाल्डे पोखरी खन्न आ.व.०७४÷०७५ मा अभियान नै संचालन गरिएको वताए ।
उनले आ.व.०७४÷०७५ मा धनकुटा नगरपालिका वडा नं.१ मा धनकुटा नगरपालिका र वातवरण विभाग काठमाण्डौंको सहयोगमा १० हजार भन्दा वढी पानी अट्ने ५० देखी ६० वटा प्लाष्टिक पोखरी निर्माण गरिएको वताए । प्रति प्लाष्टिक पोखरी ६ हजार लगानी सहित जनश्रमदान जुटाएर ६ मिटर चौडाई र ९ मिटर लम्वाई र ३ मिटर गहिर्याईको निर्माण गरिएको वताए । त्यसैगरी वडा नं.२ मा स्थानिय समुदायको लगानीमा १० वटा, वडा नं.१० मा पनि १० वटा प्लाष्टिक पोखरी निर्माण गरिएको वातवरण शाखा प्रमुख खनालले वताएका छन् । चालु आ.व.०७५÷०७६ मा वाँकी वडाहरुमा वर्षा याममा आकासे पानी संकलन गर्न प्लाष्टिक पोखरी निर्माण गर्न नगरपालिकाको अभियान निरन्तर रुपमा अघि वढ्ने खनालले वताएका छन् ।























