सन्तवीर लामा
धनकुटा । बर्षौ देखी टाउको भरी घाउ र चोट बोकेर हिंडिरहेका धनकुटा चौबिसे गाउँपालिका वडा नं.३ वन्दुके डाँडाका सात बर्षिय बालक सन्देश तामाङ हिजोआज आफु विरामी परेर पनि परिवारमा एक्ला भएर थलिएर वसेका छन् ।
विगत ४ महिना देखि जन्म दिने आमा प्रमिला तामाङ र वुवा टेकवहादुर तामाङ बेपत्ता भएपछि आधा शरिर अपांगता भएका ७ वर्षिय शन्देश तामाङ स्वास्थ्य उपचारको अभावमा टाउको र शरिर भरी घाउ बोकेर थप पिंडाले छटपटिएर हिंड्न बाध्य छन् । वि.संं.२०७२ सालमा आफ्नै घर नजिकै रहेको विजुलीको चुंडिएर झरेको तारमा अचानक खेल्दै जाँदा करेन्ट लागेर देब्रे कान, हात र खुट्टा गुमाएका सन्देशलाई अहिले फेरी टाउकाको घाउले पुर्ण रुपमा सताईरहेको छ ।
करेण्ट लागेका कारण हात र खुट्टाको भर नहुंदा एक महिना अघि कुरुलेतेनुपाको बाख्रेखोलामा मावली घर जाँदा लडेर उनको टाउकोमा गहिरो चोट लागेको थियो । चौविसे गाउँपालिका वडा न.३ को सवै भन्दा दुर्गम गाउँ कुरुलेतेनुपाको बन्दुके डाँडा घर भएका तामाङको गाउँमा उपचार हुन नसकेपछि उनका बाजे जीतवहादुरले धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौको कान्तिबाल अस्पतालमा शुरुमा उपचार गराएका थिए । छोरा टेकवहादुर कान्छी लिएर काभ्रे जिल्ला तिर गएको र वुहारी पनि छोरा हिडेपछि वेपत्ता भएकाले नातीको उपचारमा आफुले दुःख पाएको टेलिफोन मार्फत जीतवहादुरले वताए ।

शन्देशको करेन्ट लागे देखि हालसम्म उपचारमा ऋण काडेर १५ लाख ५० हजार भन्दा वढी खर्च गरेका तामाङ परिवारले अब भने आर्थिक अभावमा उनको उपचार गर्नै छाडेका छन् । परिवारको तर्फवाट आर्थिक अभावका कारण उपचार गर्न छाडे पछि ७ वर्षिय बालकको अवस्था दिनप्रतिदिन दयनिय बन्दै गएको स्थानिय साईनोले काका पर्ने दिर्घमान तामाङले टेलिफोन मार्फत ब्लाष्टलाई वताएका छन् । बाउ टेक बहादुर कान्छी श्रीमतीसंग काडमाण्डौ तिर र आमा प्रमिला पनि सम्पर्क बिहिन भएपछि अहिले ६८ बर्षिण बाजे जीत बहादुर तामाङ र वजु लालमती मात्र वुढेसकालमा नातीको सहारा बनेका छन ।
उपचार जरुरी छ तर आर्थिक अभावमा कुनै उपचार हुन सकेको छैन । केवल तातो पानीले टाउकोको घाउ सरसफाई हुनेगरेको छ, दिर्घमानले भने । सोहि ठाउँमा रहेको कुरुले तेनुपा मा.बि.मा कक्षा २ मा अध्ययनरत उनी सकि नसकी बिद्यालय जान्छन् । बाजेले हरेक दिन पटक–पटक घाउ सफा गरिदिन्छन् । झिंगा नलागोस् भनेर छोपिएको रुमालभरी पिपको टाटो लागेको अवस्था संदेशको छ । ‘आथा ! पाप्रा उकिन्छ’ हरेक पटक टाउको सफा गर्न रुमाल निकाल्दा सन्देश पिरोलिन्छन् । ‘पहिला कै साढे पाँच लाख भन्दा बढी ऋण छ, अब कुनै उपाय छैन’ बाजे जीत बहादुर भने ।
बाख्रेखोला मावलीबाट टाउकोमा गहिरो घाउ लिएर आएका कान्छा नातीको जीत बहादुरले उनको धरान स्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि काठमाण्डो कान्ति बाल अस्पतालमा उपचार गराएका थिए । ‘तिघ्राको मासु काटेर टाउकोमा लगाएको सबै पाक्दो रछ, हरेक लिन ल्याउनु भन्थ्यो पैसा नभएर त्यसै फर्काउर ल्याए’ जीत बहादुरले ब्लाष्टसंग गुनासो गरेका छन् । डक्टरहरुले अब उपचार गर्न २ लाख ५० हजार लाग्ने भनेपनि आफूहरुसंग अब कुनै उपाय नभएकोले नातिको बिजोग हेर्न बाहेक अर्को बिकल्प नभएको उनले बताए ।
सन्देश अहिले काका–काकी,दाजु र बाजेसंग बसेका छन् । सबैजना कृषि पेशामा आवद्ध भएकाले आर्थिक अभावमा उनको थप उपचार हुन नसकेको स्थानिय छिमेकी काका दिर्घमानले वताए । धनकुटा जिल्लाको दुर्गम गाउँको रुपमा चिनिने कुरुलेतेनुपा गाउँ जिल्लाकै बिकट गाउँमा पर्दछ । खानेपानी र सिचाँईको अभावको कारण अधिकांश गाउँले बसाई सरेर रित्तो भईरहेको यो गाउँ प्रदेश नं.१ कै सुख्खा ग्रस्त क्षेत्र हो । राजारानी छ नं. बुधबारे सडक खण्डको लाप्सेचोकबाट १३ किमी टाढा दुरीमाकुरुलेतेनुपा गाउँ पर्दछ ।
























