धनकुटा इन्स्टिच्युटको विद्यार्थी भर्नामा यस्तो ब्रम्हलुट

सन्तवीर लामा
धनकुटा । धनकुटामा विगत लामो समय देखी संचालनमा रहेको धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्सले यो वर्षको विद्यार्थि भर्नामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी) भक्तपुरले तोकेको दररेट भन्दा वढी शुल्क लिएको खुलासा भएको छ ।

श्रोतका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी) स्तर निर्धारण महाशाखा सानोठिमी भक्तपुरले यहि भाद्र २५ गते प्रशिक्षार्थि भर्ना सम्वन्धि जारी गरेको भर्ना दररेट भन्दा वढी भर्ना शुल्क लिएको पाईएको हो । सिटिभिटीले शैक्षिक सत्र ०७५÷०७६ मा प्रशिक्षार्थि भर्ना शुल्क लिँदा तोकेको भन्दा असान्दर्भिक र व्यापारीकरण गरीएको जनगुनासो प्रशिक्षार्थि तथा अभिभावकहरुबाट आएपछि गोरखापत्रमा सार्वजानिक सूचना जारि गरेको थियो । धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्सले विगत देखी नै संचालन गरिहेको एच.ए., अ.न.मी. र सि.एम.ए.कक्षाहरुमा भर्ना शुल्क यो वर्ष तोकिएको भन्दा वढी लिएको पाइए पछि प्रशिक्षार्थि तथा अभिभावकहरुले यस्तो गुनासो वाहिर ल्याएका हुन् ।

सिटिभिटिले परिषदबाट मान्यता प्राप्त संस्थाहरुले भर्नाको क्रममा तोकिएको भन्दा वढी शुल्क लिन नपाईने र शुल्क लिँदा पनि डिप्लोमा तथा प्रमाणपत्र तह समान्य चिकित्सा तिन बर्षे कार्यक्रमको शुल्कलाई खण्डिकरण गरेर प्रथम वर्ष ४० प्रतिसत, दोश्रो वर्ष ३० प्रतिसत र तेश्रो वर्ष पनि ३० प्रतिसतका दरले तोकिएको शुल्क लिनु पर्ने उल्लेख गरेको छ । तर धनकुटा इन्स्टिच्युटले भने तिन वर्षको लागी सामान्य चिकित्सा एच.ए.को लागी तिन वर्षको कुल ४ लाख, ४ हजारको पहिलो वर्ष ४० प्रतिसतले हुन आउने भर्ना शुल्क १ लाख, ६१ हजार, ६ सय लिनु पर्नेमा सो भन्दा वढी लिएको पाइएको छ । एच.ए.मा धनकुटा इन्स्टिच्युटले भर्ना हुने वित्तकै प्रथम किस्ता वापत २ लाख, ४७ हजार लिएको प्रशिक्षार्थिहरुले वताएका छन् ।

उनीहरुले एच.ए.को भर्नाको लागी प्रथम किस्ता वापत भन्दै ४ वटा शिर्षकमा रकम लिएको वताएका छन् । जस मध्ये तिन वर्षे एच.ए.को पठनपाठन शुल्क, रजिस्ट्रेशन शुल्क भनेर १ लाख, ६१ हजार, ६ सय, धरौटी वापत शुल्क १० हजार, विभिन्न सामान खरिद शुल्क वापत ३ वर्षको लागी ४५ हजार र थप ३० हजार भने अग्रिम शुल्क वापत गरी २ लाख, ४७ हजार ४० जना प्रशिक्षार्थिहरुवाट लिने गरेको वताएका छन् । यसरी हेर्दा ३ वर्षमा प्रति प्रशिक्षार्थि ४ लाख, ८० हजारका दरले सिटभिटीले तोके भन्दा ७६ हजार रुपयाँ वढी लिइने देखिन्छ । त्यसो त १८ महिने सि.एम.ए.मा पनि सिटिभिटीले प्रति प्रशिक्षार्थि १ लाख भर्ना,रजिस्ट्रेशन लगायतको पठनपाठन शुल्क तोकेको भए पनि धनकुटा इन्स्टिच्युटले भने ३ वटा शिर्षक मिलाएर अग्रिम १ लाख, ४५ हजार लिने गरेको श्रोतले दावी गरेको छ ।

समचार श्रोतका अनुसार सि.एम.ए.मा भर्ना, रजिस्ट्रेसन वापत १ लाख, १० हजार, विभिन्न सामाग्री खरिद शुल्क वापत ३० हजार र ५ हजार धरौटी गरी प्रति प्रशिक्षार्थि जम्मा १ लाख, ४५ हजार लिएको वताएको हो । त्यसैगरी १८ महिने अ.न.मी.को लागी सिटिभिटीले प्रति प्रशिक्षार्थि १ लाख, २० हजार लिने पर्नेमा १ लाख, ५५ हजार प्रति प्रशिक्षार्थि लिने गरेको पाइएको छ । यसरी हेर्दा धनकुटा इन्स्टिच्युटले एच.ए.मा ४० जना विद्यार्थिवाट ३० लाख, ४० हजार, सि.एम.ए.मा ४० जना विद्यार्थिवाट १८ लाख र अ.न.मी.मा ४० जना विद्यार्थिवाट १४ लाख गरी जम्मा ६२ लाख, ३० हजार विभिन्न शुल्क निर्धारण गरेर वढी शुल्क लिएको पाइएको छ ।

निःशुल्क पढ्नको लागी छात्रावृद्धि पाएका १२ जना प्रशिक्षार्थिहरुवाट पनि अग्रिम शुल्क लिने गरेको खुलेको छ । यसरी शिक्षालाई व्यापारिकण गरी जताभावी शुल्क लिएर सर्वसाधरण जनतालाई शोषण गर्दा पनि नियमनकारी निकायहरु भने मुकदर्शक भएर वसेको देखिन्छ ।

धनकुटा इन्स्टिच्युटका संचालक एवं प्रिन्सिपल राम नारयण प्रसाद रामाले भने विद्यार्थिहरुले भर्ना लिइसेकपछि सिटिभिटीले शुल्क निर्धारण गरेको वताएका छन् । उनले व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाहरुको राष्ट्रिय छाता संगठन फोरम फर हेल्थ एण्ड साईन्सको देशव्यापी निर्णय वमोजिम निर्धारण गरेको शुल्क लिएको वताए । पछि शुल्क घटेर आए फिर्ता गरिने प्रिन्सिपल रामाले वताएका छन् ।