काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महिला नेताहरुले नै बलात्कार जस्ता जघन्य अपराधका घटनाका पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न गृहमन्त्रीसँग माग गरेका छन् । शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउनु परेको नेपाल कम्युनिस्ट पार्टीकी नेता तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उनले पीडितलाई न्याय दिन र पीडकलाई कडा कानुनी कार्वाही गर्न सरकारलाई गम्भिर बन्न सचेत गराएको बताइन् ।

पीडित पक्षलाई समेत लिएर पुगेका महिला नेताहरुले गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोले आफूहरु आफैं लज्जित हुने अवस्था आएको गुनासो पनि गरेका थिए ।

यता, गृहमन्त्री थापाले पनि महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको दावी गरे । उनले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानवीन गरी दोषीलाई कार्वाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरुलाई दिए । -नयाँपत्रिकाबाट

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।