नियमित पढाइको माग गर्दा २२ विद्यार्थी निष्कासित

नियमित रूपमा पढाइ हुनुपर्ने माग गर्दा रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत २२ विद्यार्थी निष्कासनमा परेका छन् । विषयअनुसारका शिक्षकको व्यवस्था गरी नियमित पठनपाठन गराउन माग गरेका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिको आइतबार बण्सेको बैठकले एक महिनाका लागि निष्कासन गरेको हो । यो समाचार आजको नयाँपत्रिकामा छ ।

विद्यालयले निष्कासन गरेपछि विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन् । विद्यालयमा लामो समयदेखि विज्ञान र कम्प्युटर विषयका शिक्षक नहुँदा नियमित पठनपाठन नै प्रभावित भएपछि १० असोजमा तालाबन्दी गरेका थिए । विद्यालयमा अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै कक्षा १० मा अध्ययनरत २५ जनामध्ये २२ जनालाई एक महिनासम्मका लागि निष्कासन गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक पृथबहादुर थापाले बताए ।

एसइईको तयारीमा समस्या
माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को तयारी गरिरहेका विद्यार्थी निष्कासित भएपछि समस्या भएको छ । एसइई परीक्षाको तयारीमा जुटेका विद्यार्थीको पढाइ अन्योल भएको विद्यार्थीको गुनासो छ । कक्षा १० मा अध्ययनरत सम्झना थापाले भनिन्, ‘मौखिक रूपमा पटक–पटक नियमित पठनपाठन गराउन माग ग-यौँ, तर कहिल्यै सुनुवाइ भएन, हामीले गाउँ भेलामार्फत छलफल गरेर समस्या निकाल्न अनुरोध गर्दा हेडसर बिदा लिएर पोखरातिर जानुभयो, बाध्य भएर हामीले आन्दोलन गर्नुपरेको हो ।’ उनका अनुसार, शैक्षिक सत्र सुरु भएको पाँच महिना बित्दा विज्ञान विषय र कम्प्युटर विषयको एक–एक पाठको मात्रै पढाइ भएको छ । विद्यालयले निष्कासन गरेपछि गाउँ छाडेर अन्यत्र गएर पढ्ने वा अध्ययन नै नगर्ने द्विविधामा रहेको विद्यार्थीले गुनासो गरेका छन् ।

यसकारण तालाबन्दी
अमर माविमा गत जेठदेखि नै विज्ञान शिक्षक नहुँदा पढाइ भएको छैन । कम्प्युटर विषयका तत्कालीन शिक्षक रिम पाइजाले विद्यालय व्यवस्थापन समितिले तलब घटाएपछि असारदेखि अध्यापन गराउन छाडेका थिए । मासिक १५ हजार रुपैयाँमा शिक्षण गर्दै आएका पाइजालाई विद्यालयले १० हजारमा अध्यापन गराउन भनेपछि उनले पढाउन छाडेका थिए । सो विषयमा विद्यालयले विज्ञापनमार्फत नयाँ शिक्षक नियुक्त गरे पनि उनले समेत बीचैमा छाडेपछि पठनपाठन भएको छैन ।

दुई विषयको पठनपाठन लामो समयदेखि अवरुद्ध भइरहेको समयमा १० असोजमा थप दुई शिक्षक शिक्षक आयोगको परीक्षा दिन गए । सोही समयमा प्रधानाध्यापक पृथबहादुर थापासमेत पोखरा गए । निमित्त प्रअसमेत गाउँपालिकामा खाता खोल्ने कामले गएपछि विद्यालय शिक्षकविहीन भएको थियो । विद्यार्थीले आफूहरूको नियमित पठनपाठन गराउन दबाब दिन विद्यालयमा तालाबन्दी गरेका थिए । प्रअले भने विद्यालयमा कामविशेषले शिक्षकहरू नभएको अवस्थामा तालाबन्दी गरेको र अमर्यादित शब्दहरू प्रयोग गरेको, अभद्र व्यवहार र अराजकता मच्चाएकाले कारबाही गरेको दाबी गरे ।

विद्यार्थीले समस्या बुझेनन् : प्रधानाध्यापक
विद्यार्थीले विद्यालयको समस्या र वास्तविकता नबुझेको प्रधानाध्यापक थापाको भनाइ छ ।  ‘शिक्षकको अभाबबारे हामीले निरन्तर पहल गरिरहेका थियौँ, तर विज्ञान विषयको शिक्षक नै पाउन सकिएन र कम्प्युटर विषयमा अनुभवी शिक्षक पाउनै सकेका छैनौँ, विद्यार्थी उग्र भएर तालाबन्दी गर्ने र विद्यालयको शैक्षिक वातावरण नै प्रभावित बनाउन उद्यत् भएकाले उनीहरूलाई व्यवस्थापन समितिको बैठकले निष्कासन गरेको हो ।’

अध्ययनको व्यवस्था गर्न गाउँपालिकाको निर्देशन
विद्यालय र व्यवस्थापन समितिले विद्यार्थीलाई अध्ययनबाटै वञ्चित गराउने गरी गरेको निर्णय तत्काल बदर गरी उनीहरूलाई सहज अध्ययनको व्यवस्था गर्न रघुगंगा गाउँपालिकाले निर्देशन दिएको छ । स्रोतव्यक्ति बालकृष्ण उपाध्यायले विद्यालयले विद्यार्थीलाई आन्दोलन गरेको कारण निष्कासन गरेको जानकारी गराएलगत्तै वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रअलाई तुरुन्त बालबालिकालाई सहज अध्ययनको वातावरण मिलाउन निर्देशन दिइएको हो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘जनप्रतिनिधिसमेतको उपस्थितिमा बसेको बैठकले गरेको निर्णय कानुनविपरीत छ, तत्काल निर्णय सच्याउन भनेको छु, यहाँबाट समेत टोली खटाएर थप समस्या बुझ्ने तयारी गरेका छौँ ।’ सो विद्यालय गत जेठमा कार्यालय सहयोगीलाई समेत विनाकारण हटाउने निर्णय गरेर विवादमा आएको थियो ।

निष्कासन गर्नु लज्जास्पद : अभिभावक
वडाध्यक्ष देउप्रसाद पुनसमेतको उपस्थितिमा आइतबार बसेको व्यवस्थापन समिति बैठकले आन्दोलित विद्यार्थीलाई एक महिनासम्मका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । बालबालिकालाई अध्ययन नै गर्न नदिने गरी विद्यालयले गरेको निर्णय लज्जास्पद रहेको अभिभावकहरूको गुनासो छ ।

विद्यालयका पूर्वशिक्षकसमेत रहेका स्थानीय अभिभावक रिम पाइजाले एसइईको तयारीमा जुटेका विद्यार्थी अध्ययनका लागि बिचल्लीमा परेको बताए । कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा कक्षा ५ देखि १० सम्म कम्प्युटर विषयको राखिएको छ । सो विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् ।

Comments

comments