खादा निषेध गर्ने वडा अध्यक्ष राजीनामा नदिए ‘परिणाम नराम्रो’ हुने चेतावनी

सिन्धुपाल्चोक । नेपालमा धार्मिक एवं पाहुना सात्कारमा अत्यधिक प्रयोगमा आउने धार्मिक पवित्र वस्तु खादा निषेध गर्ने सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नेत्रबहादुर कार्कीको आदिवासी जनजातिहरुले राजीनामा मागेका छन् ।

विभिन्न १२ वटा संघ–संस्थाले प्रेस विज्ञप्ति नै जारी गरेर वडा अध्यक्ष कार्कीको राजीनामा मागेका हुन् । विज्ञप्तिमा तुरुन्त राजीनामा नदिए जस्तोसुकै परिणाम निस्किन सक्ने र त्यसको सम्पूर्ण जिम्मेवारी स्वयम आफै हुनुपर्ने चेतावनी दिएका छन् ।

खादा निषेधको उर्दी फिर्ता नलिए पदीय ओहदाको दुरुपयोग हुनेगरी धार्मिक रुपमा अरुको संस्कृतिमाथि आक्रमण गर्ने ब्यक्ति जनप्रतिनिधिको रुपमा पदमा रहिरहन नमिल्ने हुँदा तत्काल पदबाट राजीनामा दिन माग गरिएको हो ।

विज्ञप्तीमा धार्मिक वस्तुमाथि प्रतिवन्ध लगाउने यसखालको निर्णय एकातर्फ आदिवासी सभ्यताले विकास गरेको संस्कृति माथिको गम्भीर आक्रमण हो भने अर्कोतर्फ काुनूनी रुपमा नेपालको संविधान–२०७२ र मुलुकी संहिता ऐन परिच्छेद–९ धर्म सम्बन्धि कसुरको दफा–१५५ समेतको प्रावधान विपरित रहेको उल्लेख छ ।

वडा अध्यक्ष कार्कीको उर्दीको चौतर्फी आलोचना भएपछि कार्कीले असोज १२ गते काइते भाषाको प्रयोग गरी क्षमा मागेपनि निर्णय फिर्ता नलिएकोमा आदिवासी जनजाति संघसंस्थाहरुले आपत्ती जनाएका हुन् । विज्ञप्तीमार्फत उनलाई आम समुदायमा दिग्भ्रमित बनाउने कोशिस नगरी प्रष्ट भाषामा खादा निषेधको उर्दी पूर्ण रुपमा फिर्ता लिन आग्रह गरिएको छ ।

वडा अध्यक्ष कार्कीले २०७५ असोज ९ गते धार्मिक पवित्र वस्तु खादालाई आफ्नो वडा क्षेत्रभित्र २०७५ कातिक १ गतेदेखि लागू हुने गरी कुनैपनि सार्वजनिक कार्यक्रममा प्रयोग नगर्न निषेध जारी गरेको थियो ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेमा नेपाल तामाङ घेदुङ ३ नं. प्रदेश समिति, आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ, जिरेल संघ नेपाल, तमु ह्युल छौंज धिं गुरुङ राष्ट्रिय परिषद्, ह्योल्मो सेवा समाज, नेपाल थामी समाज, नेपाल माझी उत्थान संघ, दनुवार जागरण समिति, नेपाल मगर संघ र योल्मो काग्र्यु साङ्ङाग लाछोग रहेका छन् ।

हेर्नुहोस प्रेस वित्रप्तिः

 हेर्नुहोस प्रेस वित्रप्तिः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।