मोहन तामाङ
संखुवासभा– भोजपुर र संखुवासभालाई जोड्ने लम्सुवाको घाटको पक्की पुल निर्माण अवधि दशक पुग्न लाग्दा सम्म पनि बन्न सकेको छैन ।
बर्षाैं देखि अरुणमा पक्कि पुल निर्माण अलपत्र परेपछि स्थानीयले सास्ती पाएका छन् । पुल नहुँदा स्थानीय अझै पनि ज्यानको जोखिम मोलेर डुंगाबाट अरुण नदी वारपार गर्न बाध्य छन् । तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २५ असार २०६७ मा सम्झौता गरिएको थियो । ठूला चट्टानले अवरोध गरेको भन्दै डिजाइन परिवर्तन नभए निर्माण अघि नबढ्ने पक्षमा रहेको ठेकेदार कम्पनीले जनाएको छ ।
निर्माणको जिम्मा लिएको स्वच्छन्द निर्माण कम्पनीले २५ असार २०७० सम्ममा काम सक्नुपर्ने भए पनि विभिन्न कारणले काम गर्न नसकेको भन्दै समय थपको माग गरेको थियो ।
२४ असार २०७४ सम्म समय थप गरिएको भए पनि काम अघि बढ्न सकेको छैन । सामान्य ब्लास्टिङ गर्दा चट्टान फुटाउन नसकिएकाले डिजाइन परर्वतन पछि मात्र पुल निर्माण अगाडि बढाउन सकिने साइड इन्चार्ज विजय लामिछानेले बताए ।
आधा भागदेखि नै ठूला चट्टान भेटिएको र पुलको लम्बाइ खोला भन्दा छोटो डिजाइन भएकाले निर्माण कार्य अघि बढ्ने सडक डिभिजन कार्यालय तुम्लिङ्टारका इन्जिनियर सुरजहरि अधिकारीले बताए । पुल रिभ्युको प्रक्रियामा रहेकाले त्यसपछि मात्र कुन प्रक्रियाबाट पुल बन्ने भन्ने टुंगो लाग्ने इन्जिनियर अधिकारीले जानकारी दिए ।
१ सय ५७ मिटर पुल १३ करोड ५ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता गरिएको थियो । थप डिजाइन पछि २४ असार २०७४ भित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको सडक कार्यालयले जनाएको छ । थप डिजाइन पछि निर्माण खर्चसमेत १६ करोड ६३ लाख पु¥याइएको छ । दुई प्रकारका डिजाइन रहेको यस पुलको ७७ मिटर स्टिल ट्रस्ट र ८० मिटर आरसीसी ढलान हुनु पर्नेछ । थप डिजाइनमा २ सय ४७ मिटर लम्बाइको पुल बन्ने भए पनि थप ९० मिटरको ठेक्का लाग्न बाँकी रहेको सडक कार्यालयको जनाएको छ ।






















