चौंरीदेउराली गापाका अध्यक्ष गौतमको शिक्षकहरुसँग गुनासो, ‘गणित विषयमा घटिया रिजल्ट कसरी आयो ?’
फाइल फोटो

चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतम (प्रयास)ले गाउँपालिका भित्र गणित विषयमा सबै विद्यार्थी अनुतिर्ण भएकोमा ‘घटिया रिजल्ट’ संज्ञा दिएका छन् ।

शनिबार नेपाल शिक्षक महासंघ चौंरीदेउराली गाउँ समितिको आयोजनामा दशैंको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गापा अध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।

‘परिक्षा पछि रिजल्ट हेर्दा गणित विषयमा यस गाउँपालिकामा ‘घटिया’ रिजल्ट आएको छ । गणितमा सबैजना फेल भएका छन् । यो कसरी भयो ?’ उनले शिक्षकहरुसँग प्रश्न गर्दै भने, ‘माविका शिक्षकलाई सोध्यो प्राविका शिक्षकलाई दोष दिन्छन्, प्राविकालाई सोध्यो माविकालाई दोष दिन्छन् ।’

एक अर्को प्रसंगमा गापा अध्यक्ष गौतमले गापा भित्र गुणस्तरीय शिक्षाको लागि गापाले केही कदम चाल्न खोज्दा शिक्षकहरुमा भएको गलत आदतमा आँच आउने भएपछि केही शिक्षकहरु आतंकित भएको बताए ।

‘शिक्षकहरुको आग्रह र पूर्वाग्रहबाट पनि केही कुरा आएको छ । आदतको सत्ता सबभन्दा बेइमान हुन्छ ।’ गापा अध्यक्ष गौतमले भने, ‘यो आदतको सत्ताको विरुद्ध संघर्ष गर्न नसकेर शिक्षकहरु आतंकित भएको हो ।’

आदतलाई ‘करेक्शन’ गनुपर्ने कुरा राख्दा गुणस्तरीय शिक्षाको विपक्षमा रहेका शिक्षकहरुले पेलेको भन्ने हल्ला चलाएको उनले बताए । ‘मैले कहिल्यै पनि शिक्षकलाई पेल्दिन ।’ गौतमले भने, ‘विद्यार्थी भएको ठाउँमा शिक्षक छैन, शिक्षक भएको ठाउँमा विद्यार्थी छैन । यसलाई मिलाउन खोज्दा नकारात्मक टिकाटिप्पणी गर्छ भने मेरो भन्नु केही छैन ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।