पोखरा । पोखरामा मंगलबार र बुधबार गरि ३ जना कर्मचारी सेवाग्राहीसँग घुस लिँदा लिँदा पक्राउमा परेको छ ।
जिल्ला मालपोत कार्यालय र सरकारी वकिल कार्यालयका एक गरी तीन जनालाई घुस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् । उनीहरुको साथबाट अख्तियारको टोलीले पाँच लाख ५० हजार रुपैयाँसहित पक्राउ परेको छ ।
वकिल कार्यालयबाट को परे पक्राउ ?
मुद्दा मिलाइदिने झठो आश्वासमा सेवाग्राहीसँग घुस मागेका जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परे ।
अख्तियारका प्रमुख आयुक्तसमेत पोखरामा रहेका बेला बुधबार बिहान पौने ९ बजे सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिँदालिँदै कार्यालयबाटै पक्राउ परेको अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए ।
ठगी मुद्दामा मुद्दा जितेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने भन्दै उनले घुस मागेका थिए ।
आफूले मागेको रकम नदिए मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिदिने भन्दै घुस मागेर दुःख दिएपछि सेवाग्राहीले अख्तियारको सहारा मागेका थिए । सेवाग्राहीले पैसा दिने सहमतिपछि थापा बुधबार कार्यालय समय भन्दा करिब ढेड घण्टा अघिनै कार्यालय पुगेका थिए ।
कार्यालय छिरेपछि सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका थापालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेरहेको ढकालले जानकारी दिए ।
मालपोतका घुस्याह यसरी परे पक्राउ
यसैगरी अख्तियारको टोलीले मंगलबार साँझ ५० हजार घुससहित मालपोत कार्यालयबाट दुई जनालाई पक्राउ गरेको थियो भने घटनामा सम्लग्न एक जना फरार छन् ।
मालपोतका अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई घुस लिँदालिँदै अख्तियारले पक्राउ गरेको थियो भने नायव सुब्बा रामचन्द्र पौडेल भने फरार छन् ।
अख्तियारको टोली कार्यालय परिसरमा आएको थाहा पाएपछि उनी भागेका थिए । एक सेवाग्राहीको जग्गाको लालपुर्जा मिलाइदिने भन्दै उनीहरुले घुस मागेका थिए । जग्गा धितो राखेर बैंकबाट ऋण लिन जग्गा बन्धक राख्न गएका सेवाग्राहीसँग उनीहरुले घुस मागेका थिए ।
तीनैजनालाई सेवाग्राहीको सूचनाका आधारमा पक्राउ गरिएको प्रवक्ता ढकालले जानकारी दिए । उनले कार्यालयले हाल स्ट्रिङ अप्रेशनलाई चुस्त बनाएको जानकारी दिए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान जारी रहेको र अनुसन्धापछि अदालतमा मुद्दा चलाउने उनले ढकालले बताए ।






















