काभ्रे । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ४, ६ , ९ र रामेछापको सुनापती गाउँपालिका–४ सीमाना दोभनटारमा निर्माण हुने सुनकोसी तेस्रो जनविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।
जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्नको लागि विद्युत विकास विभागले सम्भाव्यता अध्ययनको काम अगाडि बढाएको हो । सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी पाएको इआएरएमसीले फिजिबिलिटी र इन्भारमेन्ट सर्भेको काम गरिरहेको छ ।
सुनकोसी दोस्रो र तेस्रो जलविद्युत आयोजनको सम्भाव्यता अध्ययन गरिरहेको परामर्शदाता कम्पनी इआरएमसीका कार्यकारी निर्देशक उद्धवराज चौलागाईले सम्भाव्यता अध्ययनको कामलाई तीब्रता दिएको बताए । उनले भने, ‘हामीले धमाधम काम गरिरहेका छौ, एक बर्ष अझै म्याद छ तर, म्याद अघि नै हामी सम्भाव्यता अध्ययनको काम सम्पन्न गछौैं ।’
करिब ३३ करोड लागतमा जलाशययुक्त सुनकोसी दोस्रो र तेस्रो जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको काम अगाडि बढाइएको विद्युत विकास विभागले जनाएको छ ।
इआरएमसीका कार्यकारी निर्देशक चौलागाईका अनुसार फिजिबिलिटी अध्ययनको काम सन्पन्न भएपछि दुई वटा मोडलमा आयोजना अगाडि बढन सक्ने बताउदै उनले भने, ‘पहिलो रिपोर्टको आधारमा लगानीकर्ताको खोजी गर्न सकिन्छ, अर्को डिटेल डिजाइनतर्फ पनि जान सकिन्छ ।’ उनका अनुसार एक बर्षभित्र नै मोडलको विषयमा टुंगो लाग्नेछ ।
विद्युत विकास विभागले एक बर्ष अघि परामर्शदाता कम्पनी छनोट गरेर काम अगाडि बढाएको थियो । जाइकाले गरेको अध्ययनको रिपोर्ट अनुसार सुनकोसी तेस्रो जलाशययुक्त आयोजनाबाट ५ सय ५६ मेगावाट लविद्युत उत्पादन गर्न सकिन्छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोसी दोस्रो र तेस्रो जलविद्युत आयोजनाका सम्भाव्यता अध्ययन छिटो सम्पन्न गरेपछि प्रक्रिया अगाडि बढाउन सजिलो हुने बताए । घिसिङका अनुसार सुनकोसी दोस्रो र तेस्रो जलाशयुक्त आयोजना निर्माणमा लगानी गर्न भुटान लगायतका विभिन्न देशहरुले चासो दिएका छन ।
सम्भाव्यता अध्ययनको रिपोर्ट आएपछि लगानीकर्ता खोज्न सजिलो हुने उनले बताउनुभयो । घिसिङले भने, ‘रामेछाप, काभ्रे र सिन्धुली जिल्लाको लागि मात्र नभई यी दुई जलविद्युत आयोजनाबाट देशले नै ठूलो फाइदा हुन्छ ।’
आयोजनालाई जतिसक्दो छिटो अगाडि बढाउनको लागि आफूले सक्दो काम गर्ने उनले बताए । सरकारले यस आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि सुनकोसी दोस्रो र तेस्रो जलविद्युत आयोजना अध्ययनको काम अगाडि बढाउने विषय समावेश गरेको छ । रामेछाप न्यूजबाट






















