काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ । गत २४ असोजका लागि डाकिएको सचिवालय बैठक २७ गते बस्ने गरी स्थगित गरिएकोमा नेताहरूको व्यस्तता र गृहकार्य अभाव जनाउँदै ४ कात्तिकमा सारिएसँगै नेकपाको एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको हो । ‘नेताहरूको व्यस्तताले गर्दा बैठक पछि सारिएको हो,’ केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘आन्तरिक गृहकार्यपछि बैठक बस्छ ।’ यो समाचार नयाँपत्रिकामा छापिएको छ ।
गत २२ असोजमा बसेको सचिवालय बैठकमा स्थायी समिति बैठकका लागि महासचिव विष्णु पौडेलले एक दर्जन एजेन्डा प्रस्ताव गरेका थिए । तर, बैठकको अन्त्यतिर काठमाडौं–७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता वामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन राजीनामाका लागि स्वीकृति मागेको विषयले प्रवेश पाएपछि छलफलै नगरी बैठक स्थगित भएको थियो ।
सामाजिक सञ्जालमा गौतमको उम्मेदवारीप्रति नकारात्मक टिप्पणीसँगै सचिवालयका अधिकांश सदस्य विपक्षमा देखिएपछि सचिवालय बैठक चार दिन पछाडि धकेलिएको थियो । तर, यसबीचमा पनि बैठकका एजेन्डामाथि अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरूबीच छलफल नभएकाले बैठक दसैँपछि सारिएको एक नेताले बताए । सचिवालय बैठकको एक सातापछि १२ र १३ कात्तिकमा स्थायी समिति बैठक बोलाइएको छ । अन्तरिम विधानअनुसार तीन महिनाभित्र बस्नुपर्ने नेकपाको स्थायी समिति बैठक गत २१ असारयता बस्न सकेको छैन ।
एकीकरणको सन्देश अभियान रोकियो
नेकपाले भदौ पहिलो साताभित्र एकीकरण टुंग्याएर दसैँअघिसम्म देशका सबै प्रदेश र जिल्लाहरूमा ठूला आमसभा गरेर एकीकरण सन्देश अभियान चलाउने योजना अघि सारेको थियो । तर, केन्द्रीय सचिवालय र स्थायी समितिले नै एकीकरणको काम टुंगो नलगाएपछि नेकपाको एकीकरण सन्देश अभियान पनि रोकिएको छ । यद्यपि, शनिबार मध्यपुर थिमीमा आयोजित पार्टी कार्यक्रममा अध्यक्ष प्रचण्डले दसैँलगत्तै एकीकरणको काम सकेर देशभर एकताको सन्देश अभियान चलाइने बताएका छन् ।
एकताको बाँकी काम करिब पाँच महिनादेखि अलपत्र
गत ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता घोषणासभामा ३ भदौभित्र तल्ला कमिटी र जनसंगठन एकीकरण गरिसक्ने घोषणा भए पनि एकताको बाँकी काम करिब पाँच महिनादेखि अलपत्र छ । सातवटै प्रदेश, जनसंगठन र प्रवासमा एकीकरणका लागि बनाइएका कार्यदलमध्ये सबैले प्रतिवेदन बुझाउन नसकेपछि केन्द्रीय सचिवालयले नै ५ असोजमा प्रदेशको नेतृत्व टुंगो लगाएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको निर्णय भएपछि नेपालले निर्णयप्रति असन्तुष्टि जनाउँदै असहमतिपत्र राखेका छन् ।
नेपालको असहमतिपत्र बैठकमा पेस भए पनि छलफल भएको छैन । प्रदेश कमिटीलाई पूर्णता दिने, जनसंगठन एकीकरण टुंग्याउने, जिल्ला कमिटीहरूलाई पूर्णता दिनेलगायतका एजेन्डा थाती छन् । यद्यपि, प्रदेश नेतृत्वले स्थानीय तहहरूको एकीकरण टुंग्याउन सबै जिल्लाहरूमा तत्कालीन दुवै पार्टीका पदाधिकारीहरू रहेको संयन्त्र बनाउँदै पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।





















