भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भैरहवामा निर्माणाधिन अवस्थामा रहेको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।

शनिबार भैरहवामा नेकपाले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त निर्देशन दिएका हुन् । कार्यक्रममा सहभागी हुन पुगेका उनले निर्माणधिन विमानस्थल अवलोकन गरेका थिए । अवलोकन पछि अध्यक्ष प्रचण्डले चिनीया ठेकेदार कम्पनी र नागरीक उड्यन प्राधिकरणलाई निर्देशन दिए ।

राष्ट्रिय गौरवका आयोजनाहरुमा समयमा काम नहुने, गुणस्तरीय काम नहुने, आन्तरिक किचलो हुने यस खालको परिस्थितीबाट सरकार गुज्रिएको बताउँदै समयमा गुणस्तरीय काम गर्नेलाई राज्यले पुरस्कृत र नगर्नेलाई दण्डीत गर्ने परिपाटीको ब्यवस्था गरेको बताए । यसको निर्माणले लुम्बिनीको मात्र विकास नभई राष्ट्र निर्माणका लागि कोसेढुङ्गा सावित हुने बताए ।

अवलोकनका क्रममा नागरीक उड्यन प्राधिकरणका महानिर्देशक संञ्जिव गौतमले ब्रिफिङ गरेका थिए । भौतिक पूर्वाधारको कामको ७० प्रतिशत मध्ये ५५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । बाँकी काम ३० प्रतिशत समान खरिद गरी जडान गर्ने मात्र भएकाले त्यसलाई धेरै समय नलाग्ने उनले बताए ।

अवको बढीमा ६ महिनामा रनवेको काम सम्पन्न भएर सोही रानवेबाट विमान उडान तथा अवतरण गरिने बताए । एयर रुटका कारण भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई समस्या नहुने उनले दाबी गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।