मकवानपुर । मकवानपुर जिल्लामा मानिस बेपत्ता हुनेक्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार कार्तिक ५ गतेबाट हालसम्म ८ जना मानिस वेपत्ता भएको हो । बेपत्ताका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजिदिनका लागि निवेदन दिएको तथ्यांका रहेको छ ।
गत कार्तिक ५ गतेबाट हालसम्म १२ दिनको अवधिमा ८ जना मानिसहरु वेपत्ता भएकाहरु मध्यमा ४ जना महिला र ४ जना पुरुष रहेका छन् । बेपत्ता के कारणले भएको हो भन्ने कारण भने पत्ता लागेको छैन । दिनदिनै मानिस बेपत्ता हुने क्रम जारी भएपछि स्थानीय त्रासित समेत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरको तथ्यांक अनुसार गत कार्तिक ५ गते हेटौँडा वडा नंबर ४ मा रहेको मानव सेवा आश्रममा रहेकि ३० वर्षकी विष्णुमाया तामाङ वेपत्ता भइन् । आश्रमबाट निस्केकी उनी पुनः सम्पर्कमा नआएपछि आश्रमले प्रहरीमा विष्णुमाया हराएको जानकारी दिएको थियो ।
त्यस्तै गत कार्तिक ७ गते हेटौँडा–९ का केशव कर्की, कार्तिक ८ गते हेटौँडा–५ का ३० वर्षका ज्ञानेन्द्र कुमार फुँयाल, कार्तिक १० गते हेटौँडा–१० मा रहेको एक होटलमा काम गर्ने २१ वर्षका कृष्णकुमार गौतम, कार्तिक ११ गते भीमफेदी गाउँपालिका–१ कि २१ वर्षकी जमुना जिम्वा, कार्तिक १५ गते हेटौँडा–८ की १५ वर्षकी सुजिता देउला तथा कार्तिक १६ गते हेटौँडा–१४ का वद्रीप्रसाद अधिकारी हराएको भन्दै परिवारले प्रहरीलाई खोजिदिनको लागि आग्रह सहित निवेदन दर्ता गरेका छन् ।
हराएको मध्ये केहि ब्यक्तिहरु फेला परिसकेको र आफन्तको जिम्मा लगाउने प्रक्रियामा रहेको मकवानपुरका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले जानकारी दिएका छन् ।
केहि ब्यक्ति विवाह गर्नको लागि भागेको तथा केहि घरयासी तनावको कारण हराएको तथ्य खुलेको समेत एसपी गुरुङले अनुसन्धानको क्रममा थाहा भएको बताए ।






















