अञ्जली तामाङ
धुलिखेल । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले विकास र समृद्धिको समाचार लेख्न पत्रकारहरुलाई अनुरोध गरेका छन् । आईतबार काभ्रेबाट प्रकाशित चेष्ट साप्ताहिकको रजत महोत्सवमा अध्यक्ष आचार्यले उक्त कुरा बताएका हुन् ।
‘अब मिशान पत्रकारीताको युग करिब करिब सकिएको छ ।’ उनले भने, ‘मुलुक विकास र समृद्धिको दिशामा गएकोले अब विकास र समृद्धिको समाचार लेखौं ।’ संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस स्वतन्त्रता हुन्छ भनेर आफूहरु लागेको बताउँदै आचार्यले अब राजनितिक रुपमा पत्रकारहरु बिभाजित हुन आबश्यक नभएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिडियामा गरेको लगानी जनताको हितको लागि भएकोले नाफाघाटामा हेर्नु नहुने तर्क गरे ।
झुठा समाचार लेखे ठाउँका ठाउँ कार्वाही
सम्बोधन कै क्रममा अध्यक्ष आचार्यले पत्रकारले झुठो समाचार लेखे महासंघले ठाउँका ठाउँ कार्वाही गर्ने चेतावनी दिएका छन् । पत्रकारहरुले विभिन्न व्यक्तिलाई अनावश्यक दबाद दिई रकम असुल्ने गरेको प्रमाण आफूहरुसँग भएको बताउँदै उनले कुनै पत्रकारले अनावश्यक दबाद दिइ रकम असुल्ने पत्रकारकोबारेमा जानकारी दिन समेत अनुरोध गरे । उनले प्रधानमन्त्रीको बारेमा झुठो समाचार लेख्नेलाई पत्रकारीता गरेको नभई अपराध कर्म भएको ठोकुवा गरे ।






















