काभ्रेमा पुगेर मन्त्री बाँस्कोटाले भने, ‘अबको लडाईं गरिबीसँग’
फाईल फोटो

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अर्को वर्ष बृद्धभत्ता बढाउने भएकोले सबैलाई ढुक्क रहन अनुरोध गरेका छन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरपालिका वडा नं. ११ द्वारा आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

‘सरकारले अर्को वर्षदेखि सामाजिक सुरक्षा अन्तर्गत वृद्धभत्ता बढाउने तयारी गरेको छ । तपाईंहरु ढुक्क हुनुहोस् अर्को वर्षदेखि वृद्धभत्ता बढाउँछौँ ।’ मन्त्री बाँस्कोटाले भने, ‘राज्यको ढुकुटीमा रु १ सय ५० अर्ब हुनुपर्नेमा अघिल्लो सरकारले रित्तो पारेकाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिएको हो ।’

मन्त्री बाँस्कोटाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिए पनि ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई एक लाख रुपैयाँसम्म स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने सरकारले निर्णय गरेको बताए । राज्यको खाली ढुकुटी मात्र आफूहरुको हातमा परेको उल्लेख गर्दै उनले कर छली गर्नेलाई करको दायरामा ल्याएर यसलाई भर्ने काम गरेकोले अर्को वर्ष वृद्धभत्ता बढ्ने बताए ।
मन्त्री बाँस्कोटाले सरकार समृद्ध नेपाल सुखी नेपाली बनाउन पाँच वर्षे खाका तयार गरी अघि बढिसकेको बताए ।

सामुदायिक विद्यालयलाई कम्प्युटर शिक्षा

मन्त्री बाँस्कोटाले मुलुकका सामुदाययिक विद्यालयका विद्यार्थीहरुलाई अनिवार्य कम्प्युटर शिक्षा दिने कार्यक्रममा बताएका छन् ।
‘यस वर्ष एक हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्यावको व्यवस्था गरिने छ ।’ मन्त्री बाँस्कोटाले भने ।

Comments

comments