काभ्रे । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको आव्हानमा आइतबार र सोमबार काभ्रेका सबै विद्यालय बन्द भएको छ ।
साईबर क्राइम अन्तर्गत नेवि संघका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा सबै शैक्षिक संस्था बन्द गरेको हो ।
संघका कृष्ण ढकाल नामको एक कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिएका थिए । नयाँ अपराध संहिता अनुसार यो कार्यलाई अपराधको रुपमा लिइन्छ ।
धम्कीपूर्ण एसएमएस पछि शैक्षिक संस्था बन्द
नेपाल विद्यार्थी संघ जिल्ला समितिको नाममा सबै शैक्षिक संस्थाका प्रमुखहरुलाई मोबाईल नं. मार्फत एसएमएस (म्यासेज) आएपछि असुरक्षाका कारण विद्यालय बन्द गर्न बाध्य भएको बुझिएको छ । तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको श्री कुशेश्वर माविका प्र.अ. भिमबहादुर तामाङले विद्यालय वन्द गर्न धम्की आएपछि विद्यालय बन्द गर्न बाध्य भएको बताए ।
‘हामीलाई धम्की आयो । त्यसपछि विद्यालय बन्द गर्न बाध्य भयौं ।’ उनले भने ।
काभ्रे प्याब्सनका अध्यक्ष सत्यनारायण श्रेष्ठलाई पनि आफू मातहतका विद्यालयहरुलाई बन्द गर्न धम्कीपूर्ण म्यासेज आएको छ । यसरी धम्कीपूर्ण म्यासेज आएपछि असुरक्षा भएकोले आफू मातहतको विद्यालय वन्द गर्न निर्देशन दिएको उनले बताए । ‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोनसमेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौँ । प्याब्सन काभ्रेका अध्यक्ष श्रेष्ठले भने–‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’
सुरक्षाको माग कसैले गरेनः प्रमुख जिल्ला अधिकारी
विद्यालयमा असुरक्षा भएको उजुरी कहीं कतैबाट नआएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए । त्यस्तो कतैबाट उजुरी आए आफूहरु सुरक्षा दिन तयार भएको उनले बताए । ‘अहिलेसम्म कुनै पनि विद्यालयबाट असुरक्षित भयो भनेर उजुरी आएको छैन ।’ उनले भने, ‘उजुरी आए कार्वाही गर्छौं ।’
शैक्षिक संस्था बन्द गर्नु अपराधः अभिभावक
साइबर क्राइमको अभियोग लागेका एकजना कार्यकर्तालाई गिरफ्तार गर्दा यसरी विद्यालय नै बन्द गर्नु अपराध भएको अभिभावकहरु बताउँछन् । शैक्षिक संस्था जस्तो संवेदनशील क्षेत्र माथि काँग्रेस विद्यार्थीले आक्रमण गर्नु निन्दनीय समेत रहेको उनीहरुको भनाई छ ।
‘साईबर क्राइम गरेको अभियोगमा गिरफ्ता गर्दा शैक्षिक संस्था नै बन्द गरेर कथित आन्दोलनको संज्ञा दिनु पनि अपराध नै हो ।’ अभिभावक श्यामसुन्दर श्रेष्ठले तेमाल अनलाईनसँग भने, ‘राज्य यहाँ निर कम्जोर भएको देखियो । किनभने विद्यालय बन्द गर्नेहरु पनि अपराधी हुन् तिनलाई अभिलम्ब पक्राउ गर्नुपर्छ र कार्वाही गर्नुपर्छ ।’
काभ्रे जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द हुँदा हजारौं विद्यार्थीको पठानपाठन माथि ठूलो खेलवाड भएको अभिभावकहरुको आरोप छ ।






















