नुवाकोटका सांसद हितबहादुर योजना तर्जुमामा व्यस्त

नुवाकोट । स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेट विनियोजनको लागि यतिखेर नुवाकोट जिल्ला क्षेत्र नं. १ का सांसद हितबहादुर तामाङ आफ्नो क्षेत्रमा छलफलमा जुटेका छन् ।

स्थनीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको संयोजक समेत रहेका तामाङ क्षेत्रको बिकासका लागि प्राप्त ४ करोड रुपैँया बजेटको योजना तथा कार्यक्रम बनाउन सरोकारवालाहरुसंग छलफल सुरु गरेका हुन् ।

सांसद तामाङले निर्वाचन क्षेत्र नं १ का प्रदेससभा सदस्यहरु बद्री मैनाली र राधिका तामाङ तथा सात वटै पालिकाका अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुसंग सुझाब एवं राय संकलन गरेका छन् ।

छलफल कार्यक्रममा सांसद तामाङले आफ्नो क्षेत्रभित्रका सरोकारवालासँगको सुझाबको आधारमा जनताको माग र आवश्यकतालाई प्रथामिकता दिएर तोकिएको मापदण्डको आधारमा बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाए । असोज १७ राजपत्रमा सूचना जारी गर्दै बजेट कार्यान्वयन गराउन यही कार्तिक मसान्तसम्म बिनियोजन गर्न तोकिएको समयसीमा भित्र छुट्याउनुपर्ने योजनामा सबैको साझा धारणा र चाहनालाई समावेश गर्ने संयोजक तामाङले बताए ।

छलफल कार्यक्रममा प्रदेससभा सदस्य बद्री मैनालीले बजेटको आकार ४ करोड रुपैयाँ मात्र रहेकोमा सात वटा स्थानीयतहका प्रमुखहको मागलाई अधिकतम समावेश गर्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरि प्रादेशिक सांसद राधिका तामाङले बजेट बिनियोजनमा पूर्वाधार विकासको नाममा सडकलाई भन्दा पनि कृषि, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा प्रथामिकता दिनुपर्ने सुझाव दिएकी थिईन् । छलफलको क्रम जारी रहेको बुझिएको छ ।

Comments

comments