विप्लव नेतृत्वको नेकपाले मंसिर ८ गते जनप्रदर्शन र जनसभा गर्ने

काठमाडौँ । नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी आफ्नो पार्टीको पाँचौँ पुनर्गठन दिवसको अवसर पारेर नेकपाले मङ्सिर ८ गते विशाल जनप्रदर्शन र जनसभा आयोजना गर्ने भएको छ । पार्टीको पुनर्गठनको सन्दर्भलाई लिएर साताव्यापी विभिन्न कार्यक्रम पनि गर्ने भएको छ ।

२०७१ साल मङ्सिर ८ गतेका दिन मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी—माओवादीका मुख्य नेताहरूलाई ३ बुँदे लिखित असहमतिपत्र बुझाएर नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा तत्काल नेपाल कम्युनिस्ट पार्टी माओवादी पुनर्गठन गरिएको थियो । उक्त पार्टीले नेपाली क्रान्तिको कार्यदिशा माक्र्सवाद—लेनिनवाद—माओवादको मार्गनिर्देशनमा एकीकृत जनक्रान्ति हुने निर्णय पनि गरेको थियो । २०७१ साल पुसमा दाङमा प्रथम राष्ट्रिय सम्मेलन गर्नुका साथै २०७३ फागुनमा आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर नेपाली क्रान्तिका आधारहरू तयार पार्नुका साथै दर्शनमा पनि थप विकास गरेको जनाएको थियो ।

नेकपाले प्रत्येक वर्ष मङ्सिर ८ गते नियमित कार्यक्रम गर्दै आएको छ । साथै विशेष अवसर पारेर ठूलाठूला जनप्रदर्शन पनि गर्दै आएको छ । यिनै कुराहरूलाई ध्यानमा राखेर मङ्सिर ८ गते जनप्रदर्शन र जनसभा गर्ने बुझिएको छ । उक्त दिन विशाल जनप्रदर्शन र जनसभा गर्नुका साथै आफ्नो पार्टीका धारणाहरू पनि सार्वजनिक गर्ने बुझिएको छ । प्राप्त जानकारीअनुसार उक्त जनसभालाई पार्टी प्रवक्ता एवम् स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत वरिष्ठ नेताहरूका साथै नेपालका अन्य कम्युनिस्ट तथा वामपन्थी पार्टीका नेताहरूले पनि सम्बोधन गर्ने जानकारी नेकपाको स्रोतले दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।