लुम्बिनी: के हुँदैछ अन्तर्राष्ट्रिय त्रिपिटक वाचनमा

बीबीसी गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन बुधवारदेखि शुरु गरिएको छ । तीन दिन सम्म चल्ने उक्त कार्यक्रममा विभिन्न १८ राष्ट्रका करिब पाँच सय भिक्षु भिक्षुणी तथा आनीहरुको सहभागिता रहेको बताइएको छ। बौद्धधर्मको मूल ग्रन्थ मानिने त्रिपिटकलाई सो धर्मको इतिहासको प्रमुख स्रोत पनि मानिन्छ।

के हो त्रिपिटक?

त्रिपिटक गौतम बुद्धले विभिन्न ठाउँमा दिएको मानिने उपदेश तथा प्रवचनहरूको संगालो हो।

सो संगालो लिपिबद्ध नहुँदासम्म उनका अनुयायीहरूले जुन शैलीमा एक अर्कालाई सुनाउँथे सोही शैलीमा अहिलेको वाचन अभ्यास भइरहेको बताइएको छ।

लुम्बिनी विश्वविद्यालयका प्राध्यापक भिक्षु श्री बज्रले लुम्बिनीमा यस्तो कार्यक्रम हुनु आफैँमा गौरवको विषय भएको भन्दै यसले नेपालीलाई बुद्धको उपदेश बुझ्न जिज्ञासु बनाउने विश्वास जनाए।

उनी भन्छन, “अरु देशमा त्रिपिटकबारे धेरैलाई थाहा भइसकेको छ। तर बुद्ध जन्मेको देशमा यसबारे केही थाहा नहुँदा यस्तो कार्यक्रम गर्न आवश्यक भइसकेको थियो। यो कार्यक्रमले धेरै नेपालीलाई त्रिपिटकको बारेमा जानकारी दिने विश्वास छ।”

आयोजकका अनुसार यस्ता कार्यक्रम अन्य मुलुकमा भने बेलाबेला गरिँदै आएको छ। आयोजक अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्यले यस्ता कार्यक्रम लुम्बिनीमा नियमित गर्न सकिए पर्यटकलाई लोभ्याउन सकिनुका साथै उनीहरूको बसाइ पनि लम्ब्याउन सकिने थियो।

उनी भन्छन्, “तीन दिन सम्म त्रिपिटक पाठ गर्न भनी यहाँ विभिन्न देशबाट पाहुनाहरू आएका छन्। यस्तो कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्न सकिए धेरै पर्यटक यहाँ आउने थिए।”

बौद्ध धर्म तथा दर्शनका अध्येताहरूका अनुसार बुद्ध निर्वाणको करिब एक सय वर्ष पछि भारतको वैशालीमा भएको भिक्षुहरूको नौ महिना सम्म चलेको एक सम्मेलनले बुद्धका उपदेशहरूको संकलन गरेको थियो।

पछि सोही संकलनलाई श्रीलंकामा त्रिपिटकको रुपमा लिपिबद्ध गरिएको बताइन्छ।  पाली भाषाको सोही त्रिपिटकलाई बुद्ध दर्शनको सबैभन्दा प्रमाणित ग्रन्थ मानिँदै आएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।