काठमाडौं । प्प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ‘सरकार कहाँ छ ?’ भनेर गर्दै आएको आलोचनाको जवाफ आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका हुन ।
‘सरकार कहाँ छ ? भनेर खोज्ने काँग्रेसहरुलाई आग्रह छ, मजदुरलाई सोध्नुस्, श्रमजिवीलाई सोध्नुस्, दुख पाएका जनतालाई सोध्नुस् सरकारकहाँ छ ।’ प्रधानमन्त्री आलेले भने, ‘सरकार हरायो कहाँ छ ? भनेर सरकार खोज्नेहरुलाई देखाउन तामझाम गरिएको हो ।’
घोषणा कार्याक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवामा रहेकालाई मान र मानो दिने तर अन्य सेवामा लागेकालाई वेवास्ता गर्ने प्रणालीको अब अन्त्य भएको बताएका छन् ।
‘राज्य आफ्ना नागरिकको अभिभावक भएको छ ।’ उनले भने, ‘नागरिकलाई सुरक्षा दिने र उनीहरुको सुरक्षित भविष्यको सुनिश्चितता दिने काम राज्यको जिम्मेवारी हो ।’
श्रमजिविको लागि काम गर्न सरकार व्यस्त रहेको बताउँदै प्रधानमन्त्री ओलीले यो तामझाम ‘देखिन, थाहा पाइन’ भन्नेहरुलाई देखाउन र सुनाउनका लागि गरिएको बताए ।
‘केही दिनमा मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ छ । काठमाडौंको सडक बढारिन्छ, धोइन्छ अनि देख्नुहुन्छ सरकार । अब जता फर्कियो त्यता सरकार देख्न थालेपछि आफैँ चुप लाग्नुहुन्छ ।’ उनले भने ।





















